काठमाडौं, वैशाख ३१ – नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रम मार्फत नेपालमा सेल्फी विथ डटर अभियान सुरु गरिएको हो । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।
महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपालमा हिजोबाट औपचारिक रुपमा सुरु भएको छ । यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरि नेपालमा यो अभियान सुरु गरिएको हो ।
वर्षा भण्डारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलको उपस्थिति रहेको थियो । यस अभियानमा नेपाल र भारतको तर्फबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।
नेपाल इन्टरनेट फाउण्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।
नेपालको तर्फबाट आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढंगेल, ईशा श्रेष्ठ, सुधा जोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो ।सेल्फी विथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा अतिथिको रुपमा सहभागी पूर्व विज्ञान तथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
यस्तै प्रस्तुतीहरुको क्रममा कल्पना श्रेष्ठले नेपाल इन्टरनेट फाउण्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फी विथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन । यो अभियानले सुरु गरेको प्रतियोगिताहो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् ।
यो अभियानको प्रतियोगिता हिजो अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१,००० रुपैयाँ नगद पाउनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल भएको सेल्फीले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित ११,००० रुपैयाँ नगद पाउनेछ । तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित ५१,०० रुपैयाँ नगद पाउनेछन् ।‘बेस्ट सेल्फी विथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ । यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फी विथ डटर’ अभियानमा छनौट गरिनेछ ।
भारतको हरियाणा बीबीपुरबाट सुनिल जंगलानाद्वारा सुरु गरेको यो अभियान अहिले विभिन्न देशहरुमा प्रख्यात भईरहेको छ ।
कार्यक्रममा जंगलानाले यो अभियानले गर्दा भारतको हरियाणा देखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताएका थिए । सेल्फी विथ डटर अभियानले भारतमा आन्दोलनको रुप लिइसकेको जसकारण भारतको दुर्गम गाउँहरुमा पनि छोरी चेली तथा महिलाहरुमा धेरैनै परिवर्तन र अवसरको मौका पाएको पनि बताए ।
‘भारतको तर्फबाट यस अभियानलाई राष्ट्रपति भवनका उपनिर्देशक अन्जली बक्शी, राष्ट्रिय अर्वाड फिल्म मेकर, विभा बक्शी, पूर्व यूएसएडका सुनिल नन्दा, पूर्व सिईओ डा. कृष्ण बानखण्डे, पुजा सिंह र विभिन्न देशमा छरेर रहेका भारता मूलका सुमेल, रिचीले आ आफ्नो तर्फबाट सेल्फी विथ डटर अभियान मार्फत देशमा भईरहेका चेलीबेटी माथि भेदभाव, असमानता, दवावको विरुद्धमा आमूल परिवर्तनलाई सराहना गर्दै उत्साहवद्र्धक रहेको छ,’ सुनिलले बताए ।
गायक रामधन गोस्वामीले छोरीहरुको भावनासँग मेल खाने गीत गाएर प्रोत्साहन गरेका थिए । नेपाल भारतबिच धेरै कुराहरु समानता भएकाले यस पहलले सहयोग पुर्याउने आशा गरिएको छ ।उक्त कार्यक्रममा सानो उमेरकी दिव्यंशी गौडले सेल्फी विथ डटर अभियानमा आफ्नो परिचय दिदै मातृ दिवसको दिनलाई सम्बोधन गर्दै कविता वाचन गरेकी थिइन् ।
अन्त्यमा बिक्रम श्रेष्ठले यस अभियानले भारतमा आन्दोलनको रुप लिईसकेको र अब नेपालमा पनि यो अभियान आजबाट सुरु भएको बताउँदै यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्दै कार्यक्रम समापन भएको घोषणा गरे ।
यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग #selfiewithdaughter सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।
FACEBOOK COMMENTS