४ जेठ,इजरायल–प्यालेस्टाइन आक्रमणलाई रोक्ने कोसिस भइरहेको छ तर सफल भएको छैन । विभिन्न देशहरु दुई पक्षमा विभाजित भएपछि इजरायल–प्यालेस्टाइन युद्ध विश्वको मुद्दा बनिसकेको छ । धेरैजसो इस्लामिक देशहरु प्यालेस्टाइनीको समर्थनमा देखिएका छन् भने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफूलाई २५ बढी देशको समर्थन रहेको दाबी गरेका छन् ।
अमेरिका र इजरायल एकअर्काका घनिष्ट मित्र हुन् भन्ने कुरा छिपेको छैन । त्यसैले विश्वको सुपर पावर भनिने अमेरिकाले इजरायललाई साथ दिएको छ । उसले इजरायललाई आत्मरक्षाको अधिकार रहेको बताउँदै आएको छ ।
प्रमुख युरोपीय देश फ्रान्स, बेलायत र जर्मनी पनि इजरायलको पक्षमा छन् । त्यसैले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनबीचको मुद्दामा भिटो आवश्यक पर्यो भने इजरायललाई फाइदा हुने बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुस र चीन पनि स्थायी सदस्य छन् । इजरायल–प्यालेस्टाइनबीच जारी द्वन्द्वको विषयलाई लिएर चीनले आलोचना गरेको छ ।
इजरायलका राष्ट्रपति बेन्यामिन नेतन्याहुले आफूलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका देशहरुमा अष्ट्रेलिया, अष्ट्रिया, अलबानिया, ब्राजिल, क्यानडा, कोलम्बिया, साइप्रस, जर्जिया, हंगेरी, इटली, स्लोभेनिया र युक्रेनलगायत छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् । इजरायललाई आत्मरक्षाको अधिकार भए पनि प्यालेस्टाइनका नागरिकहरु पनि सुरक्षित रहन पाउनु पर्ने उनको मत छ ।
अर्कोतर्फ इस्लामिक देशहरुले इजरायलले गरेको आक्रमणको कडा विरोध गर्दै आएका छन् । उनीहरुले प्यालेस्टाइन क्षेत्रमा हुँदै आएको हिंसा रोक्न माग गर्दै आएका छन् । इजरायलको विरोध गर्ने देशहरुमा साउदी अरब, टर्की, इरान, इराक, पाकिस्तान, युएई, कुवेतलगायत छन् । खाडीका धेरै देशहरुले इजरायलको खुलेर विरोध गर्दै आएको बीबीसीले जनाएको छ ।
इजरायलको छिमेकी देश जोर्डनका राष्ट्रपतिले इजरायलको आक्रमण रोक्न गहन कूटनीतिकरुपमा गहन प्रयास भइरहेको जनाएका छन् । जोर्डनमा प्यालेस्टाइनको समर्थनमा ¥यालीहरु निक्लने गरेका छन् ।
अर्को एक छिमेकी देश लेबनानले पनि प्यालेस्टाइनमाथि भइरहेको आक्रमण रोक्ने पहलका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
इजरायलको छिमेकी देश इजिप्टले संघर्षविरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कोसिस गरिरहेको बीबीसीले जनाएको छ ।
FACEBOOK COMMENTS