काठमाण्डौं– नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ ।
बोर्डले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थालाई संशोधन गरी वित्तीय अवस्था कमजोर रहेका सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।
बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।
पछिल्लो दिनमा कमजोर वित्तीय विवरण भएका कम्पनीले धमाधम साधारण शेयर बिक्री गरिरहेका छन् ।
त्यसबाट लगानीकर्ताको लगानी समेत जोखिममा परेको तथ्यलाई मनन गर्दै बोर्डले नयाँ व्यवस्था गरेको हो ।
बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशिल बनाउन सङ्गठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तीमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नको लागि छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसरी छुट्याइएको ऋणपत्र तोकिएको अवधिभित्र प्राकृतिक व्यक्तिले खरीद नगरेमा अन्य खरिदकर्तालाई बिक्री गर्न सकिनेछ ।
FACEBOOK COMMENTS