काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो।
पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालतले दिएको छ।
सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण गुणस्तरहीन भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ मा कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित सिक्टा सिँचाइ आयोजनाका अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।

— कान्तिपुर
