काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेकाले काङ्ग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताएका छन् ।
आज काठमाडौंको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको दाबी समेत गरेका छन् ।
अध्यक्ष थापाले मुलुकमा ब्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका हुन् । अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन् ।
नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाएका छन् ।
पार्टीको महाधिबेशन र स्थानीय तहको निर्बाचनको तयारी तीव्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सकृय सदस्यता वितरण अभियान र जनताको सुखदुखमा उच्चप्राथमिकता साथ काम गर्न आग्रह गरे ।
काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आबश्यकता औल्याउँदै थापाले जनताले बिकल्प खोजेका छन्, अबको बिकल्प राप्रपा बनाउनको निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य न्युक्षे महर्जनसहित सयौं राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं. ५ (क) का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS