काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटोमोबाइल व्यवसायी र कामदारका लागि कोरोना खोपको माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गरी कोरोनाविरुद्धको खोप माग गरेको हो ।
नाडाका उपाध्यक्ष करण चौधरी नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले हिजो बुधबार राज्यमन्त्री श्रेष्ठसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारीहरू, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकका लागि खोप माग गरेको हो ।
साथै नाडाका उपाध्यक्ष चौधरीले कोरोनाका कारण नेपालको समग्र अटोमोबाइल व्यवसायमा नै समस्या परेका कारण अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वसमेत प्रभावित भएको भन्दै खोप अभावमा अटोमोबाइल व्यवसायी तथा कामदार आफ्नो कार्य क्षेत्रमा जान नसकेको बताए । खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिक बढी प्रभावित भएको उनको भनाइ थियो ।
प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग पनि भेटी आवश्यक खोपका लागि आग्रह गरेको थियो । सो अवसरमा सचिव अर्यालले निजी क्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था रहेको भन्दै त्यसतर्फ पहल गर्न आग्रह गरेका थिए ।
निजी क्षेत्रबाट खोप आयात गर्दा सरकारी निकायबाट बढी समस्या हुने हो कि भन्ने जिज्ञासामा सचिव अर्यालले मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिनुभएको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिएका छन् ।
सो अवसरमा नाडाका कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, सदस्यद्वय निलमणि पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवालको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS