काठमाडौं । तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई सरकारले छुट दिने भएको छ । उक्त उद्योगलाई सरकारले वित्तीय सहुलियत, विद्युत डिमान्ट शुल्क, पूर्वाधार शुल्क तथा उपकरण आयातमा लाग्ने राजश्वमा छुट दिने भएको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै सरकारले उक्त उद्योगलाई छुट दिएको जनाएको हो ।राजपत्रमा प्रकाशित सूचना अनुसार लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योगले विशेष पुनकर्जाको दरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो ५ वर्षसम्म विद्युत डिमाण्ड शुल्क छुट दिने र तत्पश्चात उद्योग सञ्चालन क्षमताको आधारमा पुनरावलोकन गर्न सकिने जनाईएको छ ।
यस्तै, उक्त उद्योगसम्म पुग्ने सडक, खानेपानी, ढल सम्बन्धी पूर्वाधार निर्माण गरेमा खर्च भएको ७५ प्रतिशत रकम सरकारले दिनेछ । उक्त उद्योग आफैले वा नेपाल विद्युत प्राधिकरणबाट उद्योगस्थलसम्म डेडिकेटेड विद्युत लाईन विस्तार गरेमा लागेको खर्चको ७५ प्रतिशत रकम समेत सरकारले दिनेछ ।
उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन उपकरण आयात गर्दा स्वीकृत स्किम बमोजिम उद्योग दर्ता भएको मितिले तीन बर्षसम्म भन्सार महशुल, मूल्य अभिबृद्धि कर र अन्तःशुल्कमा छुट दिइनेछ ।
उद्योग सञ्चालनमा आएको मितिबाट ५ बर्षसम्मका लागि विद्युत खपतको आधारमा दुई मेगावाटसम्म खपत भएमा ४० प्रतिशत र त्यसभन्दा बढि खपत भए ५० प्रतिशतसम्म विद्युत महशुल छुट हुनेछ ।
FACEBOOK COMMENTS