काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति राम्रो भएर मात्रै नपुग्ने बताएका छन् । नीति तथा योजनाहरू राम्रा आए पनि नेपालमा कार्यान्वयन पक्ष अत्यन्तै फितलो हुँदा राम्रो नीति तथा योजनाको लाभ लिन गाह्रो परिरहेको बताउँदै उनले यस्तो धारणा अगाडि सारेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ का लागि आज शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति हेर्दा निकै सुन्दर देखिएको भन्दै उनले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । प्रभावकारी कार्यान्वयन भएको खण्डमा मुलुकका तल्लो वर्गले समेत यसबाट मनग्य लाभ लिन सक्ने उनको भनाइ छ ।
‘अघिल्लो वर्ष मौद्रिक नीति आउँदा कोरोनाले मुलुकको अर्थतन्त्र तहसनहस भएको थियो । सोही अवस्थालाई दृष्टिगत गरी पोहोर ल्याइएको धेरैजसो नीतिलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । जसले गर्दा उद्योगी व्यवसायीको मुद्दाहरू करिब–करिब सम्बोधन भएका छन्,’ अध्यक्ष मल्ले भने, ‘तर, राम्रो राम्रो भनेर मात्रै लक्षित वर्गले लाभ प्राप्त गर्न सकिदैन । त्यसका लागि कार्यान्वयन पक्ष बलियो र प्रभावकारी बनाउन जरुरी छ ।’
विदेशबाट आउने रेमिट्यान्सलाई बैंकमा जम्मा गर्दा थप ब्याज प्रदान गर्ने राष्ट्र बैंकको नीतिले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट आउन प्रोत्सान गर्ने मल्लको भनाइ छ । त्यस्तै उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रूपैयाँ वा सो भन्दा कम ऋण उपभोग गर्ने ऋणीका हकमा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुले मात्र प्रिमियम थप गर्ने सक्ने व्यवस्था थप सकारात्मक रहेको पनि उनले बताएका छन् ।
त्यसैगरी पुनर्कर्जामा साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिई निरन्तरता दिइने, पुनर्तालिकीकरणमा कोभिड–१९ प्रभावित उद्यमलाई प्राथमिकता दिनुलगायत विषय अत्यन्तै सकारात्मक रहेको उनको प्रतिक्रिया छ ।
‘राम्रो चिजको फाइदा सबैले लिन पाउनुपर्छ,’ उनले भने, ‘राम्रो कुराको कार्यान्वयनलाई सबै क्षेत्र मिलेर प्रभावकारी बनाऔं र तल्लो तहसम्मकालाई लाभान्वित तुल्याऔं ।’
FACEBOOK COMMENTS