काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा मंगलबार उनले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिने बताएका हुन् ।
विद्युत माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।
‘माथिल्लो तामाकोसी जलविद्युत आयोजनालगायतका आयोजनाहरुबाट उत्पादित विद्युत विक्रीका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा बिक्री गर्न आवश्यक प्रबन्ध मिलाइने छ,’ उनले भने ।
‘स्वदेशमै विद्युत खपत वृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभइ देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिबृद्धि गर्नेसमेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।’
संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताहरुलाई उत्कृष्टरुपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयासहरु केन्द्रित गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका ।
FACEBOOK COMMENTS