काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् ।
विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरबशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरेका छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको स्पष्ट पारे ।
राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको जिकिर उनले गरेका छन् । मुलुकको आवश्यकता अनुसार राज्य व्यवस्था लागू गर्दा दीगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने उनको भनाइ थियो ।
आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । पूर्वप्रहरी उपरीक्षक कुलबहादुर थापा, पूर्व नायब उपरीक्षक मानबहादुर कुँवरसहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे ।
FACEBOOK COMMENTS