हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट सिन्धुपाल्चोक र नुवाकोटलाई उक्त रकम निकासा गर्ने निर्णय गरेको हो ।
‘अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढी पहिरो लगायत विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रति परिवार अधिकतम रू दश हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने पनि निर्णय गरेको छ ।’
उहाँका अनुसार जस अन्र्तरगत सिन्धुपाल्चोक जिल्लालाई कूल लाभग्राही ३ सय ६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाई कूल लाभग्राही ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ । बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्षको सहभागिता रहेको थियो ।
‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ को दफा ५ को उपदफा (३) अनुसार लागत सहभागिताका लागि प्रदेश सरकारबाट व्यहोरिने ३० प्रतिशत रकम नुवाकोट र सिन्धुपाल्चोक जिल्लाबाट देहायबमोजिम मागभई आएको हुँदा प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय भइको हो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS