काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको पेसी न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सिन्हाको एकल इजलासमा पेसी तोकिएको हो । पेसी ९औं नम्बरमा परेको छ।
रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।
महान्यायाधिवक्ता कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाइएको छ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।

लामिछानेले अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोग गरी राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता पौडेलले नै गृह मन्त्रालयमा उजुरी दिएका थिए।

उक्त उजुरीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको थियो। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको प्रकरणमा अनुसन्धान गरेको थियो।