काठमाडौं । के तपाइँलाई पनि छिमेकी देश चीनबाट विवाह गर्ने कुनै प्रस्ताव आएको छ ? आएको छ भने सचेत र सजग हुनुहोला ।
किनकी विवाहको वहानामा तपाइँ बेचिन पनि सक्नुहुने छ । यस्तै एउटा घटनामा सम्मिलित एकजना महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विवाहको वहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोग उनलाई लागेको छ ।
प्रहरीका अनुसार राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीनपुर्याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
सो घटनापछि चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
