काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सुपर बागमती हाइड्रोपावरलाई जुटेको छ ।
सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुरको सीमानामा पर्ने बागमती नदीमा निर्माण गर्न लागेको ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो ।
सो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रूपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजनाको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति लिई २०८० असार २५ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकशन छन् ।
सो परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक र संस्थापकहरूको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता तीन अर्ब चार करोड रूपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा एभरेष्ट बैंकको दुई अर्ब पाँच करोड रूपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेशनलको एक अर्ब लगानी रहेको छ ।
सो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनाका साथै स्वतन्त्र ऊर्जा उत्पादकमध्येको ठूलो परियोजनाको रूपमा रहने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS