काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ।
दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० करोड ७५ लाख रुपियाँ हुन्छ।
गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भएको थियो। आयोजना ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटारस्थित विद्युत् उपकेन्द्र हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी हो। नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त यस कम्पनीले सेयर तथा धितोपत्र निष्कासन र बिक्री व्यवस्थापन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य सेवा, सामूहिक लगानी कोष व्यवस्थापन, सेयर दर्ता व्यवस्थापन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्ना सेवाहरू ग्राहकसमक्ष सहज रूपमा पुर्याउन गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत सहजीकरण गर्दै आएको जनाएको छ। साथै, नवीनतम प्रविधिको प्रयोग गरी आफ्ना सेवाहरूलाई थप परिष्कृत, प्रभावकारी र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
