काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नुपर्ने बताएका छन् ।
एसपीपीप्रति असहमति जनाउँदै नेता रावलले नेपालले स्टेट पार्टनरशीप प्रोग्राम सम्झौता गरेमा शक्तिराष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे । नेपालले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी रावलको छ ।
स्टेट पार्टनरशीप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ । रावलले भने, ‘नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठुला शक्ति राष्ट्रको तीव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठूलो खतरा उत्पन्न सृजना हुन्छ ।’
नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको लागि, र नेपालको संविधान कार्यान्यवनको लागि राष्ट्रिय सहमति भएमात्रै राष्ट्रहित मान्न सकिने बताएका छन् । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको उनको चेतावनी छ ।
‘अमेरिकी राजदुतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको थियो, अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन, तिमी स्वतः सदस्य भयौ भनेर जबरजस्ती गर्ने भाषामा आएको छ,’ अमेरिकी राजदूतावासलाई उद्धृत गर्दै एक पत्रकार सम्मेलनमा उनले भने, ‘म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधिन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भनेपनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्छ ।’
FACEBOOK COMMENTS