काठमाडौं । मेडिकल शिक्षा सुधार तथा विगतमा भएका सहमति कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको विवाद समाधान र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
बैठकमा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने विषयसमेत उठेको थियो। नेशनल मेडिकल कलेजको विवाद समाधानका लागि समिति गठन गरी पठाउने विषयमा पनि छलफल भएको छ ।
शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन् । बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने निर्णय गरेको छ ।

