काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको छ ।
बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ २२० केभी हब बगाउनुका साथै विभिन्न जलविद्युत केन्द्रहरूमा क्षति पुर्याएपछि त्रिशूली करिडोरका १२ वटा आयोजनाबाट उत्पादन बन्द भई कुल ४३०.८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ ।
प्रारम्भिक अनुमान अनुसार यस क्षेत्रमा नेपाल विद्युत प्राधिकरण र उसका सहायक कम्पनीहरूलाई मात्रै करिब रु. ७४ अर्ब बराबरको नोक्सानी भएको छ ।
बाढीका कारण उत्पादन ठप्प हुने आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको साञ्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’, ४२.५ मेगावाटको लोअर साञ्जेन, २५ मेगावाटको एनईए सोलार, २४ मेगावाटको त्रिशूली र २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना रहेका छन् ।
त्यसैगरी २० मेगावाटको लाङटाङ, १४.८ मेगावाटको अपर साञ्जेन, १४.३ मेगावाटको माथिल्लो मैलुङ, १४.१ मेगावाटको देवीघाट र ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाबाट समेत विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

मुख्य प्रसारण हब र आयोजना स्थलहरूमा पुगेको व्यापक क्षतिका कारण विद्युत उत्पादन तथा आपूर्ति प्रणाली नराम्ररी प्रभावित बनेको छ।

यसअघि भाद्र १० को बाढीले पुर्याएको उक्त क्षतिकै बीच पछिल्लो पटक २०८३ असोज ९ गतेदेखि परेको अविरल वर्षाले कालिगण्डकी, कुश्मा–दाना, मस्र्याङ्ग्दी र राहुघाट लगायतका संरचनाहरूमा समेत थप क्षति पुर्याउँदा प्रणालीमा चुनौती थपिएको छ।

त्रिशूली करिडोरका मुख्य आयोजनाहरू लामो समय प्रणाली बाहिर रहँदा आगामी सुक्खायाम (पौष २०८३ देखि वैशाख २०८४) को माग व्यवस्थापनमा समेत गम्भीर असर पर्ने देखिएको छ ।
सुक्खायाममा आन्तरिक उत्पादनबाट जम्मा १,२१८ मेगावाट मात्र बिजुली उपलब्ध हुने अनुमान गरिएको छ । गत वर्षको सुक्खायाममा राष्ट्रिय उच्चतम माग २,२९२ मेगावाट पुगेको सन्दर्भमा, प्राधिकरणले माग र आपूर्तिको सन्तुलन कायम राख्न ढल्केवर–मुजफ्फरपुर, टनकपुर, बिहार–यूपी लाइन र आरटीसीमार्फत कुल १,१५४.८० मेगावाट विद्युत भारतबाट आयात गर्ने योजना तय गरेको छ।