काठमाडौं । बीवाईडीका तीन नयाँ मोडल नेपालमा सार्वजनिक भएका छन्।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा अटोमोबाइल एक्स्पोमा बीवाईडीका अट्टो १, अट्टो २ र अट्टो ३ तीन भेरियन्टमा सार्वजनिक भएका हुन्।
नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट नेपाली बजारमा लन्च गरेको हो।
नयाँ मोडल थपिएसँगै बीवाईडीले नेपालमा आफ्नो एटो सिरिजलाई थप फराकिलो बनाएको छ। विशेषगरी एटो २ को नयाँ बेस भेरियन्टले तुलनात्मक रूपमा कम मूल्यमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्नेछ।
यसअघि नेपालमा एटो २ ५१.१३ किलोवाट आवरको ब्याट्रीसहित उपलब्ध थियो। अब भने कम्पनीले ४५ किलोवाट आवर ब्याट्री भएको बेस भेरियन्ट थप गरेको हो।
एटो टु एसेनसियलको मूल्य ४५ लाख ९५ हजार र प्रिमियमको ४८ लाख ९९ हजार राखिएको छ।
एटो ३ को एडभान्स्डतर्फको मूल्य ६२ लाख ९० हजार र अर्को सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ। एटो १ मा फेसलिफ्टको पनि डाइनामिकको ३० लाख ७५ हजार र प्रिमियमको ३४ लाख ८० हजार मूल्य राखिएको छ।
बीवाईडीले आफ्नो सानो इलेक्ट्रिक ह्याचब्याक एटो १ को पनि फेसलिफ्ट संस्करण नेपाल ल्याएको छ। एटो १ मूलत: सहरकेन्द्रित तथा इन्ट्री लेभल ईभीका रूपमा लक्षित मोडल हो।
नेपालमा हाल उपलब्ध एटो १ को डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर ब्याट्री र करिब २३० किलोमिटर रेन्ज उपलब्ध छ।
फेसलिफ्ट संस्करणमा डिजाइन तथा फिचरमा परिमार्जन गरिएको छ। यसमा वायरलेस चार्जर र ३६० क्यामेरा राखिएको छ।
बीवाईडीले नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको एटो ३ को फेसलिफ्ट पनि सार्वजनिक गरेको छ। नयाँ एटो ३ मा डिजाइनसँगै चार्जिङ र प्रविधिमा समेत उल्लेख्य सुधार गरिएको छ।