ललितपुर । फोनपेको क्रेडिट कार्ड सुरुआत भएको दुई वर्षमा ५० हजारभन्दा बढी प्रयोगकर्ता पुगेका छन् । यो नेपालको डिजिटल वित्तीय परिदृश्यमा कोशेढुंगा भएको कम्पनीको दाबी छ ।
यससँगै फोन पेको सुविधाले छिटो, सहज, पहुँचयोग्य र प्रविधिमैत्री कर्जा समाधानप्रति बढ्दो उपभोक्ता मागलाई प्रतिबिम्बित गरेको बताएको छ । यो उपलब्धिले डिजिटल क्रेडिटप्रति उपभोक्ताको बढ्दो विश्वास तथा नेपालभरका ग्राहकका लागि क्रेडिटलाई अझ पहुँचयोग्य, सुविधाजनक र सहज बनाउन फोनपे र यसका साझेदार बैंकहरूबीचको सहकार्य बलीयो बन्दै गएको छ ।
ग्राहकहरूले हाल सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स गरी नौ साझेदार बैंकका मोबाइल बैंकिङ एपमार्फत तत्काल आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्छन् ।
ग्राहकहरूले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।
यसै उपलब्धिबारे फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारकाअनुसार परम्परागत क्रेडिट कार्डको इतिहास ३६ वर्ष लामो छ । हालसम्म यसको संख्या तीन लाखभन्दा केही बढी पुगेको छ ।
फोनपे क्रेडिट कार्डले भने दुई वर्षमै ५० हजार प्रयोगकर्ता पार गरेको छ । “तर यो उपलब्धि केवल गति वा संख्याको विषय होइन । यो क्रेडिटको पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दै यसलाई विशेषाधिकार प्राप्त वर्गमा मात्र सीमित नराखी हरेक नेपालीका लागि थप समावेशी र पहुँचयोग्य बनाउने विषय हो,” उनी भन्छन् ।
यस उपलब्धिले नेपालमा एम्बेडेड फाइनान्सको बढ्दो गतिलाई समेत उजागर गरेको छ । ग्राहकका अपेक्षाहरू तत्काल, कागजरहित र डिजिटल माध्यममा आधारित बैंकिङ अनुभवतर्फ निरन्तर परिवर्तन भइरहेका बेला फोनपे क्रेडिट कार्डले वित्तीय सेवाहरू प्रदान गर्ने र ग्राहकले त्यसको अनुभव गर्ने तरिकामा भइरहेको व्यापक परिवर्तनमा योगदान पुर्याइरहेको उनको दाबी छ ।