काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि बुधबारदेखि ‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्युआर युनियन–पे’ शुरू हुँदै छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहान साढे १० बजे राष्ट्रिय सभागृहमा आयोजना गरिने उद्घाटन समारोहमार्फत गर्दैछन् । आयोजक संस्था कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ)का अनुसार यो वर्षको मेलामा सबै अवलोकनकर्ताले रू. १ मै मेलामा प्रवेश पाउने छन् । तर, रू. १ मा मेला अवलोकन गर्न चाहानेहरूले मेलाको टाइटल स्पोन्सर समेत रहेको आईएमई–पे मोबाइल वालेटमार्फत ई–टिकट लिनु पर्ने छ ।
यदि ई–टिकट नलिए मेला प्रवेशका लागि रू. १०० रुपैयाँ तिर्नुपर्ने महासंघका अध्यक्ष महासचिव नारायण थापाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा आयोजक संस्थाले उपलब्ध गराएको एक्जिविसन साप तथा भीआईपी इन्भाइटेशन लिएर आउने व्यक्तिले निःशुल्क प्रवेश पाउने छन् । उनले भने, ‘अन्य सर्वसाधारणका लागि हामीले रू. १ मै मेला अवलोकनको व्यवस्था गरेका छौँ । त्यसका लागि मेलामा आउने महानुभावहरूले आईएमई–पेमार्फत टिकट खरीद गर्नु पर्ने छ । तर, आईएमई–पेमार्फत टिकट खरीद नगर्ने भिजिटरले मेला प्रवेशस्थलको गेटबाट रू. १०० तिरेर टिकट लिनुपर्ने छ ।’
मेलामा सामुहिक रूपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश दिइने पनि महासचिव थापाले जानकारी दिएका छन् । त्यस्तै ज्येष्ठ नागरिक, पत्रकार र फरक क्षमता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
विगतको तुलनामा यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ (भिडियोसहित)
आईएमई–पे क्यान इन्फोटेक वैशाख ७ गतेदेखि हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
FACEBOOK COMMENTS