काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबारे गलत भ्रम फैलाइएको भन्दै यसको पछाडि नलाग्न आग्रह गरेको छ । आइतबार सिबिफिनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहीन विषयहरूको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरूको वास्तविक तथ्यहरूका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूका आधिकारिक प्रतिनिधिहरूलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकहरुमा हार्दिक आग्रह गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशङ्का एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण भएको समेत सिबिफिनले जनाएको छ । यस कार्यहरूप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सबलीकरण र पारदर्शीरुपमा सञ्चालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको तथ्य रहेको सिबिफिनले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक परिसूचकहरूको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुगमन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानुन बमोजिम कारबाही हुने सिबिफिनले जनाएको छ ।