काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आयातका कारण व्यापार व्यवसायमा असर परेको बताएका छन् । आजबाट सुरु भएको २४ औं फ्लोरा एक्स्पोमा यस्तो बताएका हुन् ।
ढकालले सरकारले नेपालमा उत्पादन हुने वस्तुको आयातलाई प्रथामिकता दिनु भन्दा पनि उत्पादन गर्नको लागि निजी क्षेत्रलाई विभिन्न विषयमा सहयोग गर्न आवश्यक रहेको बताए ।
उनले भने, “निजी क्षेत्रले पछिल्लो समय निकै समस्या भोग्दै आएको छ । सरकारले निजी क्षेत्रको कुरालाई वेवास्त गर्नुभन्दा पनि उनीहरुले उठाएका मागहरुलाई सम्बोधन गरेर अघि बढ्नु आवश्यक रहेको छ ।’’ ढकालले घरेलु उत्पादनलाई सरकारले बजारको व्यवस्था गर्नुका साथै उत्पादित वस्तुको निर्यातमा सहयोग गर्दा देशको अर्थतन्त्र मजबुत हुने बताए ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले नेपालामा खुल्ला नाका कारण चोरी पैठारी गर्दै पुष्पजन्य वस्तुको आयात तिव्र गतिमा भएको बताए । तामाङले ठूलो परिणाममा पुष्पजन्य वस्तुको आयात हुदाँ नेपालमा उत्पादन भएको पुष्पले बजार पाउन मुस्किल भएको बताए । अध्यक्ष तामाङले सरकारले उक्त कार्यलाई तत्काल रोक्न र सिमा नाकामा थप कडाइ गर्न अनुरोध गर्नु भएको छ ।
तामाङले बैंक तथा वित्तीय संस्थाहरूले पुष्प क्षेत्रमा लगानी गर्न नखोजेको आरोप लगाए । “बैंकले कृषि क्षेत्र र अन्य क्षेत्रलाई एउटै दृष्टिले हेर्दा हामीले ऋण पाउन सकेका छैनौँ । कृषि तथा पशुपन्छी मन्त्रालयले अरू बैंकमा नभएपनि कृषि विकास बैंकसँग सम्वन्य गरेर कृषि क्षेत्रमा प्रवाह हुने ऋणको समय अवधि बढाउन अनुरोध गर्छु’’ उनले भने, “कृषि क्षेत्रमा गरेको लगानी तत्काल उठ्ने भन्रे छैन । पुष्पाजन्य क्षेत्रमा लगानी गर्दा ८० प्रतिशत लगानी भौतिक पूर्वधार क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । २० प्रतिशत पैसा लगानी गरेर हामीले पाँच वर्षमा बैकको ऋण तिर्न सक्ने अवस्था छैन । त्यसकारण १० वर्षको समयअवधि बढाउनु पर्ने सरकारसामु अनुरोध गर्छु ।’’

एशोसिएसन नेपालले आजबाट सुरू गरेको एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा, ल्याण्डस्कोपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड सहित ८० स्टल रहने जनाएको छ । त्यस्तै प्रति स्टलको लागि ४० हजार शुल्क रहेको छ ।
