काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले २०८३ असार २ गते आह्वान गरेको विज्ञापन अनुसार छनोट प्रक्रियामा रहेका ७ जना उम्मेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूमा आवाश कार्की, आशिष गोविन्द अमात्य, चन्द्रमणि अधिकारी, नविन चन्द्र गौतम, निर्मल पन्थी, पंकज कुमार चौधरी र रविन्द्र भक्त तिमला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशक नियुक्त गर्दा उम्मेदवार कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको तथा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नभएको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । मन्त्रालयले योग्य र निष्पक्ष व्यक्तिलाई छिट्टै नियुक्त गर्ने तयारी रहेको जनाएको छ ।
तर, अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवार मध्ये तेस्रो नम्बरमा रहेका चन्द्रमणि अधिकारीलाई लिएर भने विभिन्न प्रश्न उठ्न थालेका छन् । अधिकारी यस अघि पनि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । उनी तत्कालीन समयमा नेकपा (एमाले) को समर्थनमा निर्देशक नियुक्त भएको आरोप सार्वजनिक रूपमा लाग्दै आएको छ ।
स्रोतका अनुसार अधिकारीले आफू पुन: कार्यकारी निर्देशक बन्नेमा ढुक्क रहेको र केन्द्रभित्र सबै पक्ष मिलाइसकेको दाबी आफ्ना निकटस्थहरूसँग गर्ने गरेको चर्चा छ । यस्ता दाबीहरूले नियुक्ति प्रक्रिया निष्पक्ष, प्रतिस्पर्धात्मक र पारदर्शी हुने वा नहुने भन्ने विषयमा प्रश्न उठाउन थालेका छन् ।
स्वास्थ्य मन्त्रालयले भने प्रक्रिया कानुन र मापदण्ड अनुसार अघि बढिरहेको जनाएको छ । तर मन्त्रालयले स्वयं राजनीतिक आबद्धता र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने व्यक्तिलाई मात्र नियुक्त गर्ने मापदण्ड तय गरेकाले अन्तिम निर्णयमा त्यसको कडाइका साथ पालना हुन्छ कि हुँदैन भन्नेमा सबैको चासो बढेकोे छ ।
अब हुने प्रस्तुतीकरण र अन्तर्वार्ता पछि मन्त्रालयले कसलाई कार्यकारी निर्देशक नियुक्त गर्छ भन्ने विषयले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्व मात्र होइन, स्वास्थ्य क्षेत्रमा हुने उच्च तहका नियुक्तिको पारदर्शिता माथि पनि महत्वपूर्ण सन्देश दिनेछ ।