काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इरान युद्धले विश्व अर्थतन्त्रमा ठूलो अनिश्चितता सृजना गरिरहेका बेला चीनको अर्थतन्त्र भने अपेक्षाभन्दा बलियो देखिएको छ ।
वर्षको सुरुवातमै चीनले पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ । जुन अनुमानभन्दा माथि भएको अर्थसम्बन्धी जानकारहरूको भनाइ छ । तर, सतहमा देखिएको यो मजबुतीभित्र भने दीर्घकालीन जोखिमहरू पनि उत्तिकै गहिरिँदै गएको सङ्केत देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराको काउन्टिङ द कोस्ट कार्यक्रममा प्रस्तुत विश्लेषणअनुसार, चीनले प्रत्यक्ष रूपमा युद्धमा भाग नलिएको भए पनि यसको प्रभावलाई रणनीतिक रूपमा व्यवस्थापन गर्दै आएको देखिन्छ । ऊर्जा आपूर्ति सङ्कट, विश्व व्यापारमा अवरोध र राजनीतिक तनावबीच पनि चीनले आफ्नो आर्थिक गति कायम राख्न सफल भएको देखिएको छ ।
निर्यातको बलमा अर्थतन्त्र उकासिँदै
चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो योगदान निर्यात क्षेत्रले दिएको छ । वर्षको सुरुवाती महिनाहरूमा चीनको निर्यात करिब १५ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । जनवरी र फेब्रुअरीमा यो वृद्धि २० प्रतिशतसम्म पुगेको थियो । जसले चीनको उत्पादन क्षमता र विश्व बजारमा यसको प्रभाव अझै बलियो रहेको पुष्टि गर्छ ।

चीन औद्योगिक उत्पादन पनि मजबुत देखिएको छ । मार्च महिनामा चीनको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ५.७ प्रतिशतले बढेको छ । जसले उत्पादन क्षेत्र अझै सक्रिय रहेको सङ्केत गर्छ ।

यसै सन्दर्भमा अल जजिराको काउन्टिङ द कोस्ट कार्यक्रममा चीन रिसर्च ग्रुपका संस्थापक सीन रायन भन्छन्, ‘वर्षको सुरुवात चीनका लागि निकै राम्रो रह्यो, जसले अर्थतन्त्रको लचकता देखाउँछ ।’ तर उनी थप्छन्, ‘मार्चदेखि निर्यातको गति घट्न थालेको छ । यदि युद्ध लम्बियो भने ऊर्जा मूल्यको असर उत्पादन र व्यापार दुवैमा पर्न सक्छ ।’

घरेलु अर्थतन्त्रमा कमजोरी कायमै
बाह्य क्षेत्रमा मजबुत देखिए पनि चीनको आन्तरिक अर्थतन्त्र भने अझै चुनौतीपूर्ण अवस्थामा छ । विशेषगरी घरेलु उपभोग कमजोर रहनु सबैभन्दा ठूलो समस्या बनेको छ ।
जानकारहरूका अनुसार, चिनियाँ उपभोक्ताहरू खर्च गर्न हिचकिचाइरहेका छन् । उनीहरूसँग बचत प्रशस्त भए पनि भविष्यप्रतिको अनिश्चितता, रोजगारीको असुरक्षा र आम्दानी वृद्धि सुस्त हुँदा उपभोग घटिरहेको छ । युवाहरूमा बेरोजगारी दर बढ्दै जानु पनि यसमा मुख्य कारण मानिएको छ ।
काउन्टिङ द कोस्ट कार्यक्रममा ज्यापिटल रिसर्चकी एन स्टेभेन्सन याङ भन्छिन्, ‘समस्या केवल डर होइन, आय वितरणको असन्तुलन हो । जब नागरिकले अर्थतन्त्रको लाभ कम पाउँछन्, तब उपभोग स्वाभाविक रूपमा कमजोर हुन्छ ।’
रियल–इस्टेट सङ्कट र ऋणको दबाब
चीनको रियल–इस्टेट क्षेत्र अझै सङ्कटग्रस्त अवस्थामा रहेको समचारहरू सार्वजनिक भएका छन् । सन् २०२० मा सुरू भएको आवास बजारको गिरावटले ठूलो आर्थिक क्षति पुर्याएको थियो । अहिले पनि घरको मूल्य स्थिर हुन सकेको छैन भने नयाँ घरको माग कमजोर रहेको विभिन्न अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले देखाएका छन् ।
स्थानीय सरकारहरूको ऋण पनि बढ्दो छ । जसले आर्थिक प्रणालीमा थप दबाब सिर्जना गरिरहेको अर्थ मामिलाका जानकारहरूको बुझाइ छ । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक योसुके हा भन्छन्, ‘यी समस्या नयाँ होइनन्, दीर्घकालीन संरचनात्मक चुनौती हुन्, जुन युद्धभन्दा पहिले नै देखिएका थिए ।’ उनका अनुसार चीनको शक्ति यसको उत्पादन र प्रविधिमा आधारित भएकाले अर्थतन्त्र अझै केही समय टिक्न सक्छ ।
मूल्य घट्ने दबाब र बजारमा असर
चीनको अर्थतन्त्रमा मूल्य घट्ने अवस्था देखिएको छ । बजारमा माग कम र आपूर्ति बढी हुँदा वस्तुहरूको मूल्य घटिरहेको छ । जसले व्यवसायहरूलाई घाटा र आम्दानी घट्ने जोखिममा पारिरहेको छ । यसै विषयमा सीन रायन भन्छन्, ‘ऊर्जा मूल्य बढ्दा उत्पादन लागत बढ्छ, र यसले उपभोक्ता विश्वासमा असर पार्छ ।’
ऊर्जा सङ्कटमा चीनको रणनीतिक मजबुती
इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति प्रणाली प्रभावित भइरहेका बेला चीन भने तुलनात्मक रूपमा सुरक्षित देखिएको छ । चीनसँग ६ महिनाभन्दा बढी पुग्ने तेल भण्डारण रहेको बताइएको छ ।
चीनले आफ्नो ऊर्जा आवश्यकताको ठुलो हिस्सा आन्तरिक स्रोतबाट पूरा गर्छ । साथै, नवीकरणीय ऊर्जा क्षेत्रमा चीन विश्वकै अग्रणी राष्ट्र हो । यस विषयमा सीन रायन भन्छन्, ‘हरित ऊर्जामा गरिएको लगानीले अहिले चीनलाई ठूलो फाइदा दिएको छ ।’ तर, एन स्टेभेन्सन याङ भन्छिन्, ‘चीन अझै पनि आयातित ऊर्जामा निर्भर छ, त्यसैले जोखिम पूर्ण रूपमा हटेको छैन ।’
विश्व राजनीतिमा चीनको सक्रियता
इरान युद्धपछि चीनले कूटनीतिक गतिविधि बढाएको छ । राष्ट्रपति सी जिनपिङले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य, शान्ति र विकासमा जोड दिँदै आएका छन् । यस सन्दर्भमा योसुके हा भन्छन्, ‘चीनले आफ्नो व्यापार सम्बन्ध विश्वभर विस्तार गरिसकेको छ, जसले यसलाई अहिलेको अवस्थामा बलियो बनाएको छ ।’
अवसर र जोखिम सँगसँगै
अमेरिका–इरान युद्धले चीनलाई केही अवसर दिएको देखिन्छ । निर्यात वृद्धि, ऊर्जा व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रभाव विस्तार सकारात्मक पक्ष हुन् । तर, कमजोर घरेलु उपभोग, रियल इस्टेट सङ्कट, ऋणको भार र मूल्य घट्ने दबाबजस्ता समस्या दीर्घकालीन चुनौतीका रूपमा उभिएका छन् ।
विश्लेषकहरूका अनुसार, चीनको अर्थतन्त्र अहिले बाह्य रूपमा मजबुत देखिए पनि भित्री सुधार नगरेसम्म दीर्घकालीन रूपमा दबाब बढ्ने सम्भावना रहेको छ ।