काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख भइरहेका बेला सम्भावित नयाँ पार्टीको नाम र वैचारिक धारबारे बहस सुरु भएको छ ।
आगामी साउन २९ गते राष्ट्रिय भेलाको आह्वान गरेको संस्थापन इतर समूहले त्यतिबेला सम्म सभापति गगन थापासँग सहमति नभए सोही भेलाबाट नयाँ पार्टी गठनको घोषणा गर्ने तयारी गरेको चर्चा छ ।
संस्थापन इतर समूह भित्र नयाँ राजनीतिक शक्ति निर्माण गर्ने परिस्थिति बनेको अवस्थामा पार्टीको नाममा कुनै न कुनै रूपमा ‘कांग्रेस’ जोड्ने र हिन्दू राष्ट्र सहित सनातन धर्मको मुद्दालाई प्रमुख राजनीतिक एजेण्डा बनाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।
आगामी स्थानीय, प्रदेश र त्यसपछि हुने संसदीय निर्वाचनमा नयाँ राजनीतिक शक्तिले कुन एजेण्डा लिएर जनता माझ जाने भन्ने विषयमा अन्योल देखिन्छ । अहिलेकै अवस्थामा संस्थापन इतर समूहसँग जनतालाई विश्वस्त पार्न सक्ने स्पष्ट राजनीतिक एजेण्डा नरहेको बुझाइ छ ।
यस्तो अवस्थामा संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्लो समय बढ्दै गएको हिन्दू राष्ट्रको माहोललाई संस्थागत रूपमा अंगाल्न सके राजनीतिक र सांगठनिक रूपमा बलियो बन्न सकिने बुझाइ इतर समूहका नेताहरूमा देखिएको छ ।
हिन्दू राष्ट्रको एजेण्डा बोक्ने दर्जनौँ समूह भए पनि त्यसलाई औपचारिक राजनीतिक एजेण्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो । यही मुद्दालाई संस्थागत गरोस् भनेर राप्रपालाई जनताले पटक–पटक सम्मान जनक मत सहित संसदमा पठाउँदै आएका छन् । तर हिन्दू राष्ट्रको मुद्दालाई सत्तासँगको सौदाबाजीमा सीमित गरेको भन्दै पछिल्लो समय जनता राप्रपासँग असन्तुष्ट रहेको बुझाइ पनि कांग्रेसभित्रको असन्तुष्ट समूहमा देखिन्छ । त्यसैले हिन्दू राष्ट्र पुन:स्थापना हुनुपर्छ भन्ने मत राख्ने मतदाताले नयाँ राजनीतिक शक्तिलाई विश्वास गर्न सक्ने उनीहरूको आकलन छ ।
कांग्रेस नेता प्रकाशशरण महतले पनि पछिल्लो समय खुलेर वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा धारणा राखेका छन् । उनले राष्ट्रियता संकटमा रहेको उल्लेख गर्दै हिन्दू, बौद्ध र किरातलाई नेपालको राष्ट्रिय पहिचानसँग जोडेर हेर्नुपर्ने धारणा अघि सारेका छन् ।
‘अहिले हाम्रो राष्ट्रियता संकटमा छ । हिन्दू, बौद्ध, किरात राष्ट्रिय पहिचान पनि हो भन्ने कोणबाट विचारहरू आएका छन् । हामीले आन्तरिक रूपमा पनि कुरा उठाएका छौँ,’ महतले भनेका छन् ।
कांग्रेसभित्र हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका नेता शंकर भण्डारी भने राजसंस्था सहितको हिन्दू राष्ट्रको पक्षमा खुलेर उभिएका छन् । उनले पार्टी विभाजन भए पनि वा नभए पनि कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्ने विषयलाई जोड दिँदै आएका छन् ।
भण्डारीका अनुसार नेपाललाई विदेशी शक्तिको क्रीडास्थल बन्न नदिन र राष्ट्रिय स्वाभिमान कायम राख्न राष्ट्रिय एकता आवश्यक छ । ‘देशलाई विदेशी शक्तिको क्रीडास्थल बन्न नदिन र देशको स्वाभिमानका निम्ति व्यापक एकताको आवश्यकता छ । राष्ट्रिय एकताको आधार राजसंस्था हो, अनि सबै धर्मको सम्मान हुने गरी वैदिक सनातन हिन्दू राष्ट्र एकता र शान्तिको अर्को आधार हो,’ उनले भनेका छन् ।
उनले कांग्रेस एकताबद्ध रहे पनि वा अलग पार्टी बने पनि आफूले अघि सारेको वैचारिक दृष्टिकोण आवश्यक रहेको बताएका छन् । ‘न कांग्रेस मात्रैले देशलाई एकताबद्ध बनाउन सक्यो, न कम्युनिस्टले सके । अहिले आएकाहरूको त वैचारिक–सैद्धान्तिक आधार नै स्पष्ट छैन । त्यसैले कांग्रेसले अहिलेकै बाटोबाट देशको नेतृत्व गर्ने परिस्थिति बन्दै बन्दैन,’ भण्डारीको भनाइ छ ।
तर संस्थापन इतर समूहमा तत्काल राजसंस्थाको मुद्दा भन्दा हिन्दू राष्ट्र र सनातन धर्मको विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्ने नेताहरूको संख्या बलियो रहेको बताइन्छ । आगामी निर्वाचनमा आवश्यक परे राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य राजनीतिक शक्तिसँग सहकार्य गरेर अघि बढ्न सकिने बुझाइ पनि समूहभित्र देखिन्छ ।
यद्यपि कांग्रेस नेता कृष्णप्रसाद सिटौला सहितका नेताहरूले आवश्यक परे नयाँ पार्टी गठनको विकल्प खुला राखे पनि वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मूल मान्यताभन्दा बाहिर नजाने बताउँदै आएका छन् ।
सिटौलाले आवश्यक परेको अवस्थामा नयाँ पार्टी बनाउन सकिने बताए पनि संविधानका मूल मर्मसँग सम्झौता गर्न नसकिने धारणा राखेका छन् । ‘आवश्यक परेको अवस्थामा नयाँ पार्टी बनाउन सकिन्छ । तर संविधानका मूल मर्म गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका बारेमा कम्प्रमाइज गर्न सकिँदैन,’ उनको भनाइ छ ।
असन्तुष्ट कांग्रेस पक्षका प्रमुख नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का र प्रकाशमान सिंहले भने प्रत्यक्ष रूपमा हिन्दू राष्ट्र वा राजसंस्थाको पक्षमा धारणा राखेका छैनन् । उनीहरूले त्यसको खण्डन पनि गरेका छैनन् । बरु पछिल्लो समय उनीहरूले देशको राष्ट्रियता र भूराजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै आएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा यी तीन नेताका अभिव्यक्ति पनि अर्थपूर्ण देखिएका थिए । उनीहरूले नेपालको भूराजनीतिक परिस्थिति जटिल बन्दै गएको र राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै बीपी कोइराला सहितका नेताहरू २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको प्रसंग स्मरण गरेका थिए ।
डा. शेखर कोइरालाले अहिले देशको अवस्था २०३३ सालको भन्दा पनि खराब रहेको दाबी गरेका छन् । ‘सात वटा अभियोगमध्ये एउटा मात्रै पुष्टि भएको भए जन्मकैद वा फाँसी हुन सक्थ्यो, तर उहाँहरू राष्ट्रियता अप्ठेरोमा परेको देखेर फर्किनुभयो । अहिले देश त्योभन्दा सयौँ गुणा खराब अवस्थामा छ,’ कोइरालाले भनेका छन् ।
राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको बताउँदै उनले त्यसलाई सम्हाल्न एकताबद्ध कांग्रेसले लोकतन्त्र र राष्ट्रियता जोगाउन अन्य शक्तिसँग मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेता पूर्णबहादुर खड्काले पनि नेपालको राष्ट्रियता २०३३ सालको भन्दा कैयौँ गुणा संकटमा रहेको दाबी गरेका छन् ।
‘नेपालको राष्ट्रियता २०३३ सालको भन्दा सयौँ, सयौँ, सयौँ गुणा संकटमा छ । नेपाल देश रहने कि नरहने भन्ने दोसाँधमा छ । राष्ट्रवादी र लोकतान्त्रिक शक्ति एक नभईकन, नमिलीकन नेपालको राष्ट्रियतामाथिको संकट दूर हुन सक्दैन,’ खड्काले भनेका छन् ।
प्रकाशमान सिंहले पनि राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै आएका छन् । यी अभिव्यक्तिलाई कांग्रेस भित्रको असन्तुष्ट समूहले आगामी राजनीतिक सहकार्यका लागि आधार तयार पार्ने संकेतका रूपमा पनि हेरिएको छ ।
कांग्रेसभित्र हिन्दू राष्ट्रको पक्षमा रहेको समूह भने नयाँ होइन । २०८० साल फागुनमा भएको कांग्रेस महासमिति बैठकका क्रममा आधा भन्दा बढी महासमिति सदस्यहरूले पार्टी हिन्दू राष्ट्र सहित सनातन धर्मको पक्षमा उभिनुपर्ने भन्दै हस्ताक्षर गरेका थिए । तर उक्त विषयमा पार्टीले औपचारिक रूपमा छलफल अघि बढाएको थिएन ।
यसअघि कांग्रेसको केन्द्रीय समितिमा समेत ४० जना भन्दा बढी नेताले पार्टीले हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्ने पक्षमा आफूलाई उभ्याएका थिए । तीमध्ये केही नेता अहिले सभापति गगन थापा पक्षमा छन् । पुष्पा भुसाल, प्रकाश रसाइली ‘स्नेही’, डिला संग्रौला, देवेन्द्रराज कँडेल, विनोद चौधरी, इन्द्रबहादुर बानियाँ र शुक्रराज शर्मालगायतका नेताहरू थापा पक्षमा छन् ।
तर पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसलाई संगठनात्मक रूपमा बलियो बनाउन विगतमा धर्म निरपेक्षताको पक्षमा रहेका नेताहरू पनि हिन्दू राष्ट्रको पक्षमा खुल्न सक्ने आकलन गरिएको छ ।
कांग्रेस भित्रको सम्भावित विभाजनसँगै पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालाई पनि चासोका साथ हेरिएको छ । तीन वर्षअघि तत्कालीन कांग्रेस सभापति देउवाले समेत हिन्दू राष्ट्रको विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिएका थिए । अहिले शेखर कोइराला र पूर्णबहादुर खड्कालाई देउवाको समर्थन रहेको चर्चा कांग्रेसभित्र छ । त्यसैले देउवा आगामी साउनको अन्तिम साता विदेशबाट नेपाल फर्किएपछि हिन्दू राष्ट्रको मुद्दाले थप राजनीतिक आकार लिन सक्ने आकलनसमेत हुन थालेको छ ।
यद्यपि सभापति गगन थापाले साउन २९ गते अघि नै असन्तुष्ट पक्षसँग सहमति गर्ने र पार्टीलाई विभाजनबाट जोगाउने प्रतिबद्धता जनाउँदै आएका छन् । त्यसैले साउन २९ गतेसम्म कांग्रेसभित्र सहमति कायम हुन्छ वा नयाँ राजनीतिक शक्ति जन्मिन्छ भन्ने विषयसँगै त्यसले बोक्ने राजनीतिक एजेण्डा पनि चासोको विषय बनेको छ ।
यदि नयाँ पार्टी गठन भयो भने त्यसले हिन्दू राष्ट्र र सनातन धर्मको मुद्दालाई प्रमुख राजनीतिक एजेण्डा बनाउने हो वा गणतन्त्र र धर्मनिरपेक्षताकै धारलाई निरन्तरता दिने हो भन्ने प्रश्नले नेपालको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
कांग्रेसको सम्भावित विभाजनले एउटा पार्टीको संगठनात्मक संरचनालाई मात्र होइन, आगामी निर्वाचनमा राष्ट्रवादी, लोकतान्त्रिक र हिन्दू राष्ट्र पक्षधर शक्तिहरूबीचको सहकार्य र राजनीतिक ध्रुवीकरणलाई समेत नयाँ दिशातर्फ लैजान सक्ने देखिन्छ ।