काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशन आज अधिकांश निर्वाचन क्षेत्रमा हुँदैछन्।
पछिल्ला दिनको भारी वर्षाका कारण केही पहाडी तथा सडक अवरुद्ध भएका निर्वाचन क्षेत्रमा कार्यतालिका केही दिन पछाडि सारिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रमअनुसार अधिवेशन गर्न लागिएको हो।
कांग्रेस निर्वाचन समितिले भारी वर्षाका कारण प्रभावित क्षेत्रमा असोज १३ गतेभित्र अनुकूल दिनमा अधिवेशन सम्पन्न गर्न सक्ने विकल्प दिएपछि केही निर्वाचन क्षेत्रमा मिति परिवर्तन गरिएको छ। अत्यधिक वर्षाका कारण आवागमन प्रभावित भएका पहाडी जिल्लाका केही क्षेत्रमा भने भोलि वा पर्सिसम्म अधिवेशन गर्ने गरी कार्यतालिका मिलाइएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएकाले अधिकांश निर्वाचन क्षेत्रमा आजै अधिवेशन सञ्चालन गर्ने अवस्था बनेको छ। उनका अनुसार अहिलेसम्म क्षेत्रीय अधिवेशन सञ्चालनमा ठूलो अवरोध देखिएको छैन।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सम्बन्धित क्षेत्रको क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्।

कांग्रेसको विधानअनुसार पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति सम्बन्धित संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वत: महाधिवेशन प्रतिनिधि हुन्छन्। उनीहरूलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार हुँदैन।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्नेछन्। यो कार्यसमितिमा उपसभापतिको व्यवस्था छैन।

कार्यसमिति सदस्यतर्फ १८ जना निर्वाचित हुनेछन्। प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ बाट एक महिला र दुई खुलासहित तीन–तीन जना गरी ६ जना निर्वाचित हुनेछन्।
त्यस्तै खुलातर्फ एक महिलासहित चार जना, युवातर्फ एक महिलासहित दुई जना तथा जनसंख्याका आधारमा समानुपातिक समूहबाट ६ जना निर्वाचित हुनेछन्। बाँकी ६ जना सदस्यलाई क्षेत्रीय कार्यसमितिमा मनोनयन गर्न सकिने व्यवस्था छ।
संघीय निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा कुल ३३ जना चयन हुनेछन्। यसमा चार महिला, १० खुला, एक महिलासहित तीन युवा र जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्।
यसका अतिरिक्त श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिम तथा अन्य अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडित समूहबाट एक–एक जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।
क्षेत्रीय अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यसमेत चयन गर्नेछ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्य चयन हुनेछन्।
महासमिति सदस्यतर्फ दुई महिला, पाँच खुला, ३५ वर्षभन्दा कम उमेरका एक युवा तथा जनसंख्याका आधारमा समानुपातिक समूहबाट चार जना छनोट हुने व्यवस्था छ।
यसरी क्षेत्रीय अधिवेशन कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि नेतृत्व र प्रतिनिधि छनोट गर्ने महत्वपूर्ण तहका रूपमा रहनेछ।
आजै हुने प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का लागि छुट्टाछुट्टै क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष भने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा मनोनयन गरिनेछ।
कार्यसमिति सदस्यका रूपमा दुई महिला, एक दलित, एक युवा, तीन खुला तथा जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन्। थप सात जनालाई सभापतिले कार्यसमितिमा मनोनयन गर्न सक्ने व्यवस्था छ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश प्रतिनिधिसमेत चयन हुनेछन्। प्रदेश प्रतिनिधिमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा तथा जनसंख्याका आधारमा समानुपातिक समूहबाट ६ जना चयन हुनेछन्।
त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडित समूहबाट एक–एक जना प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेपछि अब सघीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ।
क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने नेतृत्व तथा प्रतिनिधिले त्यसपछि हुने प्रदेश र केन्द्रीय तहका अधिवेशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि कांग्रेस महाधिवेशनको प्रक्रिया केन्द्रीय नेतृत्व चयनतर्फ अघि बढ्नेछ।
कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ। त्यसका लागि क्षेत्रीय तहबाट प्रतिनिधि तथा महासमिति सदस्य छनोट गर्ने प्रक्रिया पूरा गर्न निर्वाचन समिति र पार्टीका सम्बन्धित संरचनाहरूले तयारी तीव्र बनाएका छन्।