काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित भेटेरिनरी कार्यालय भवन निर्माणको बोलपत्र प्रक्रियामा अनियमितता गरी राज्यलाई १ करोड २६ लाख ९६ हजारभन्दा बढी नोक्सानी पुर्याएको दाबीसहित आयोगले आज आरोपपत्र दायर गरेको हो ।
उक्त भवन निर्माणका लागि आह्वान गरिएको टेन्डर प्रक्रियामा बदनियतपूर्ण ढङ्गले मिलेमतो गरिएको पाइएको आयोगको भनाइ छ ।
उक्त भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह र असिस्टेन्ट सब–इन्जिनियर प्रेम कुमार सिंहको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको ठहर छ ।
उनीहरूले बोलपत्र मूल्याङ्कनका क्रममा कम रकम कबोल गर्ने ’श्री राम निर्माण सेवा’ लाई प्राविधिक रूपमा अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने ’राधा कृष्ण निर्माण सेवा’ लाई ठेक्का सुम्पिएका थिए ।

राम निर्माण सेवाले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ कबोल गरेकोमा कर्मचारीहरूको मिलेमतोमा उक्त कम्पनीलाई बाहिर राखिएको थियो । त्यसको बदलामा ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई ठेक्का दिइएको थियो । यसरी कम कबोल गर्ने कम्पनीलाई नदिई बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा थप व्ययभार पर्न गई प्रत्यक्ष हानि नोक्सानी भएको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा निर्माण व्यवसायी राधा कृष्ण निर्माण सेवाका प्रबन्धक कौशल्या कुमारी रजकलाई पनि प्रतिवादी बनाइएको छ । आयोगले आरोपित कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेकोमा थप सजायको समेत मागदाबी गरिएको छ ।