काठमाडौं, ५ भदौ । कर्णाली प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् ।साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ जनामा संक्रमण देखिएको हो ।
यस्तै साउनयता पीसीआर विधिबाट दुई हजार ८६० जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये एक हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
कर्णालीमा साउनयता मात्रै १७ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ ।
१० जना जटिल प्रकृतिका संक्रमित कर्णाली प्रदेश अस्पतालमा उपचाररत रहेको र जसमध्ये तीन/चार जनाको अवस्था जटिल रहेको अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । ‘पछिल्लो समय प्रदेशमा संक्रमितको संख्या हृवात्तै बढेको छ, अस्पतालमा पनि जटिल प्रकृतिका संक्रमितहरु थपिन थालेका छन्, यही रेसियूमा संक्रमित बढ्दै गए अबको दुुई/तीन साताभित्र अस्पतालहरु भरिने छन्,’ डा. पौडेलले भने ।
उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेको संक्रमण दरलाई चाँडै रोकथाम तथा नियन्त्रण गर्न नसके अझै बढी भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । संक्रमितको संख्या बढेसँगै फेरि अस्पतालहरु भरिभराउ हुन थालेको र अक्सिजनको मागसमेत बढेको उनीहरुको भनाइ छ ।
FACEBOOK COMMENTS