काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान बदलेको भन्दै तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले ढुण्डिराज दाहालले घुस लिई भ्रष्टाचार गरेको भनिएको मुद्दामा बयान बदलेको भन्दै सरकारी साक्षीहरू प्रह्लाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठविरुद्ध विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
पोखरेलविरुद्ध ५६ हजार ३ सय ५०, गौतमविरुद्ध ३७ हजार ५ सय र श्रेष्ठविरुद्ध २७ हजार ३ सय ५० बिगो मागदाबी गरिएको छ ।
यी तीनै जनाले प्रतिवादी दाहाललाई घुस दिएको कसुर पुष्टि भए पनि अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाइएको अख्तियारले जनाएको छ ।
तर विशेष अदालतमा गत वैशाख २५ गते बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारको आरोपत्रमा उल्लेख छ ।


