काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रसबोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
य सम्झौतासँगै नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टरोपेबल क्यूआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ ।
यस्तै नेपालपे क्यूआरमार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई-वालेट र मोबाइल बैंकिङ एप्स जस्तैः अलिपे, अलिपे एचके, तिनाबा, एमपे, टचएन गो वालेट, माईपीबी, हाइपे, जीक्यास, चान्गीपे, ओसीबीसी डिजिटल, काकाओपे, न्याभरपे, टसपे र ट्रुमनीबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
साथै बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS