काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गर्दै मंगलबार सन्दीपबाट पीडित ती युवतीले साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी हुन् ।
यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
उनले भने, ‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौँ । उनले दुई दिन अघि उजुरी दिएकी थिइन् । ’

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

पछिल्लो समय जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपछि पीडित गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेका छन्।

यसरी पहिचान खुलाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटा समेत छन्। उनीसहित विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा पहिचान खुलाउने काम गरेका छन्।
पहिचान खुलाएको भन्दै रास्वपाले दिवशलाई निलम्बन गरिसकेको छ।
पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।
अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।
गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन।
त्यस्तै विद्युतीय अपराधसम्बन्धी ऐनको दफा ४७ मा लेखिएको छ– कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।