नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी, विदेशी मुद्रा आर्जन, देशको आर्थिक विकासमा योगदान गरेको छः मन्त्री भण्डारी
कर्पोरट खबर
6:58 am, बिहीबार, भदौ १९, २०८२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको बताएका छन् ।
नेपाल तयारी पोसाक उद्योग संघको ३०औँ वार्षिक साधारण तथा उद्घाटन कार्यक्रममा उनले नेपालको पोसाक उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको बताए ।
मन्त्री भण्डारीले यस कार्यमा संघले तीन दशकदेखि तयारी पोसाक उद्योग क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । उनले राष्ट्र विकासका लागि स्वदेशी उत्पादन, स्थानीय सीप विकास, उत्पादन वृद्धिबाट रोजगारी सिर्जना अपरिहार्य रहेको बताए ।
मन्त्री भण्डारीले गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण, प्रविधि अनुकूलन र निर्यात विस्तारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विदेशी ब्रान्डलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रवर्द्धन गर्दा देशको अर्थतन्त्र बलियो, रोजगारी वृद्धि र राष्ट्रिय पहिचान मजबुत हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले विदेशी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र रोजगारी वृद्धिका लागि सरकारले सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS