बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रेस चौतारी बैतडीले आयोजना गरेको पत्रकारमा उनले सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको बताए ।
रकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउँदै उनले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको दाबी गरे ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र वाणिज्य नीतिमा केही परिमार्जन गरिने उद्घोष गरे । उनले उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने जानकारी दिए ।
उनले नेपाल–भारत सीमा नाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको जनाए । बैतडीमा रहेका खानीहरूको पहिचान गरी ती खानीहरूको उत्खनन गरिने भण्डारीको भनाइ छ । पाटनमा ११ महिनादेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताए । सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गरे
