काठमाडौं । शाही आयोगदेखि पछिल्ला अदालती मुद्दासम्म सामना गर्दै आएको स्मरण, अदालतप्रति पूर्ण विश्वास रहेको देउवाको भनाइ ।
गणतन्त्र जनताको आन्दोलनबाट आएको दाबी गर्दै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
काठमाडौं । झण्डै साढे पाँच महिनाको विदेश बसाइ टुंग्याएर बिहीबार स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट एकाएक आक्रामक अभिव्यक्ति दिए ।
लामो समयपछि सार्वजनिक रूपमा प्रस्तुत भएका देउवाको अभिव्यक्तिलाई कांग्रेसभित्र मात्रै होइन, पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि समर्थक र शुभेच्छुकले स्वागत गरे पनि देउवाले त्यहाँ कुनै राजनीतिक टिप्पणी गरेनन् । विमानस्थलबाट बाहिरिएपछि उनको सचिवालयले दुई पृष्ठ लामो सन्देश सार्वजनिक गरेको थियो ।
त्यसमा देउवाले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले भनेका थिए, “नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो ।
सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने छ ।”
तर, चुनदेवीस्थित कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय पुगेपछि देउवाको प्रस्तुति भने फरक देखियो ।
त्यहाँ उनले आफूविरुद्ध विगतमा भएका कानुनी कारबाहीको प्रसंग निकाल्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत चुनौती दिएका छन् ।
“शाही शासन अन्त्य गरेर गणतन्त्र ल्याउन मैले चाहेर मात्रै हुने थिएन, मैले गर्न सक्ने थिएन, नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?” देउवाको प्रश्न थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा आफूलाई शाही आयोग मार्फत मुद्दा लगाएर थुनिएको तर अदालतबाट आफूले न्याय पाएको स्मरण गर्दै उनले अहिले पनि आफूलाई कसैले फसाउन नसक्ने आशय व्यक्त गरे ।
देउवाले भने, “ऐतिहासिक कालखण्डदेखि नै मुद्दा खेपेको व्यक्ति हुँ म । हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो ।”
देउवाको यो अभिव्यक्ति पछिल्लो समय आफू र पत्नी आरजु राणा देउवा विरुद्ध भइरहेका सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान तथा कानुनी प्रक्रियासँग जोडेर पनि हेरिएको छ । यस अघि सरकारले देउवा दम्पती विरुद्ध पक्राउ अनुमति लिएको विषय सार्वजनिक भएको थियो । पछि सर्वोच्च अदालतले उक्त अनुमति बदर गरिदिएको थियो ।
यही सन्दर्भमा देउवाले अदालत प्रति आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । उनले नेपालको न्यायालयले विगतदेखि नै निष्पक्ष फैसला गर्दै आएको दाबी गरे ।
“अदालतप्रति मेरो पूर्ण विश्वास छ,” भन्ने देउवाको भनाइलाई कांग्रेसभित्र चलिरहेको आधिकारिकताको विवादसँग पनि जोडेर हेर्न थालिएको छ । कांग्रेसको आधिकारिकता कसको हुने भन्ने विवाद अदालतमा विचाराधीन रहेका बेला देउवाले अदालतप्रतिको विश्वास सार्वजनिक गर्नु अर्थपूर्ण मानिएको छ ।
ज्ञानेन्द्रलाई चुनौती कि वर्तमान सरकारलाई सन्देश ?
राजा ज्ञानेन्द्रले आफूलाई कानुनी रूपमा पराजित गर्न नसकेको स्मरण गराउँदै “राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?” भन्नुले देउवाले वर्तमान राजनीतिक तथा कानुनी परिस्थितिमा आफूलाई चुनौती दिनेहरूलाई समेत सन्देश दिन खोजेको देखिन्छ ।
हतपत धेरै नबोल्ने र सार्वजनिक अभिव्यक्तिमा संयमित रहने छवि बनाएका देउवा लामो विदेश बसाइपछि स्वदेश फर्किएलगत्तै चुनदेवीबाट आक्रामक रूपमा प्रस्तुत हुनुलाई कांग्रेसभित्र विशेष चासोका साथ हेरिएको छ ।
एकातिर उनले कांग्रेस एकताका लागि सहमति र सहकार्यको आवश्यकता औँल्याएका छन् भने अर्कोतर्फ आफूविरुद्ध हुने कानुनी तथा राजनीतिक दबाबको सामना गर्न तयार रहेको संकेत गरेका छन् ।
देउवाको स्वदेशफिर्ती किन अर्थपूर्ण ?
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि हातपात भएको तथा उनीहरूको घरमा आगजनी भएको घटनापछि देउवा लामो समय उपचारका लागि विदेशमा बसेका थिए ।
पुसमा कांग्रेस भित्रको विवादकै बीच विशेष महाधिवेशन भयो र गगन थापाको नेतृत्वमा रहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसपछि चुनावको मुखमा देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए ।
चुनावपछि कांग्रेस प्रतिनिधिसभामा दोस्रो ठूलो दल बनेको छ । पार्टीभित्र नेतृत्वको विषयलाई लिएर विवाद कायमै रहेका बेला देउवा स्वदेश फर्किएका हुन् ।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्षलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद थप जटिल बनेको थियो ।
पछिल्लो समय सर्वोच्च अदालतले कांग्रेस विवाद सम्बन्धी यस अघिको फैसला पुनरवलोकन गर्ने आदेश दिएपछि राजनीतिक रूपमा पनि नयाँ परिस्थिति बनेको छ ।
यही परिवेशमा देउवाको “अदालतप्रति पूर्ण विश्वास” भन्ने अभिव्यक्तिलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।
कांग्रेसको आधिकारिकताको विवादमा अदालतबाट आफ्नो पक्षमा निर्णय आउने विश्वासका साथ उनी स्वदेश फर्किएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
देउवाको अगाडि दुई चुनौती
लामो समय विदेश बसेर फर्किएका देउवाका अगाडि अब मुख्यत: कानुनी र राजनीतिक गरी दुई प्रकारका चुनौती देखिन्छन् ।
कानुनी रूपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय अझै संवेदनशील अवस्थामा छ । सरकारी निकायबाट यसबारे पछिल्लो अवस्था स्पष्ट रूपमा सार्वजनिक नभए पनि अनुसन्धानको विषयले देउवालाई पछ्याइरहेको छ ।
राजनीतिक रूपमा भने कांग्रेसको विभाजन रोक्ने र पार्टीलाई एकताबद्ध बनाउने चुनौती अझ ठूलो छ । गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनपछि कांग्रेसभित्र दुई धार स्पष्ट देखिएका छन् ।
एक पक्षले विशेष महाधिवेशनलाई स्वीकार नगरेको अवस्थामा पार्टीको आधिकारिकता र नेतृत्वको विवाद अदालतसम्म पुगेको छ ।
देउवा विदेशमा रहेका बेला कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज चर्कियो र विशेष महाधिवेशनसमेत भयो । अहिले पार्टी विभाजन हुनेसम्मका चर्चा भइरहेका बेला उनको स्वदेशफिर्ती भएको हो ।
उनलाई स्वागत गर्न पुगेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी एकताका लागि देउवाको “निर्णायक भूमिका” रहने बताएका छन् ।
राष्ट्रिय भेलाअघि देउवाको ‘कमब्याक’
देउवा स्वदेश फर्किएको भोलिपल्टै कांग्रेसको इतर पक्षले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । त्यसमा देउवाले सम्बोधन गर्ने छन् ।
त्यसैले चुनदेवीमा दिएको उनको आक्रामक अभिव्यक्तिलाई आगामी राष्ट्रिय भेलामा प्रस्तुत हुने राजनीतिक लाइनको संकेतका रूपमा समेत हेरिएको छ ।
देउवाको चुनौती अब पार्टीको आधिकारिकता अदालतबाट आफ्नो पक्षमा पार्ने मात्रै होइन, विभाजनको संघारमा पुगेको कांग्रेसलाई एकीकृत राख्ने पनि हो ।
लामो समयपछि स्वदेश फर्किएर पहिलोपटक सार्वजनिक रूपमा बोलेका देउवाले एकातिर “नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने” सन्देश दिएका छन् भने अर्कोतर्फ “राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?” भन्दै आफ्र विरुद्धको दबाबको सामना गर्ने संकेत गरेका छन् ।
त्यसैले चुनदेवीबाट आएको देउवाको यो हुँकारलाई आगामी दिनमा कांग्रेस भित्रको शक्ति संघर्ष, अदालतमा विचाराधीन आधिकारिकताको विवाद र उनको आफ्नै राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ ।