काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण गत भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तरता दिन डिशहोमले विशेष पहल थालेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट बढी प्रभावित क्षेत्रमा नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको छ ।
प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले डिशहोमले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।
युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने कम्पनीको भनाइ छ ।
यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता र राहत कार्यमा संलग्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ । कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताएको छ ।
डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्याङ्कन गर्ने जनाएको छ ।
सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुन:स्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा समेत स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
यस पहलमार्फत डिशहोम र युटेलस्याट वनवेबले विपद्का समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।