काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१९ अंक अर्थात् ०.८० प्रतिशत घटेर २ हजार ६१२ बिन्दुमा झरेको हो ।
बुधबार ३५० कम्पनीका १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
सबैभन्दा धेरै कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसपछि रिलायन्स स्पिनिङको २५ करोड, शिवम् सिमेन्टको १६ करोड, सोलु हाइड्रोको १५ करोड र लिबर्टी इनर्जीको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढ्यो । हिमाल दोलखा हाइड्रोपावरको सेयर पनि ५.३१ प्रतिशतले उकालो लाग्यो ।
बुधबार कारोबार भएका नेप्सेका सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट जलविद्युत समूहमा देखिएको छ । जलविद्युत उपसूचक १.०४ प्रतिशतले घटेको छ भने जीवन बीमा उपसूचक १.०१ प्रतिशतले ओरालो लागेको छ ।

गैरजीवन बीमा उपसूचक ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.८५ प्रतिशत, अन्य समूह ०.८७ प्रतिशत, लघुवित्त ०.८२ प्रतिशत, लगानी ०.८१ प्रतिशत, वित्त ०.७६ प्रतिशत र विकास बैंक ०.७३ प्रतिशतले घटेका छन् ।

यस्तै ट्रेडिङ उपसूचक ०.७० प्रतिशत, म्युचुअल फन्ड ०.६४ प्रतिशत, बैंकिङ ०.६३ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.५२ प्रतिशतले पनि गिरावट जनाएको छ ।