काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्रले क्रमशः सुधारको संकेत देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत पुगेको छ। यो दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशत बिन्दुले बढी हो, जसले अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको संकेत गरेको छ।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरणमा भएको उल्लेख्य वृद्धि, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन र कर्जा प्रवाहमा आएको विस्तार, निर्जीवन बीमा क्षेत्रको कारोबार वृद्धि तथा व्यापारिक गतिविधि सक्रिय बन्दै जाँदा समग्र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुगेको हो।
आधारभूत मूल्यका आधारमा गणना गरिएको कुल गार्हस्थ उत्पादन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ५१ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा भएको गिरावट तथा केही औद्योगिक वस्तुको घरेलु उत्पादन कमजोर रहँदा आर्थिक वृद्धि अपेक्षाअनुसार तीव्र हुन नसकेको कार्यालयले जनाएको छ। यिनै कारण अर्थतन्त्रमा सुधार देखिए पनि वृद्धि अझै मध्यम स्तरमै सीमित रहेको विश्लेषण गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनबाहेक अन्य अधिकांश क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ। विद्युत् तथा ग्यास क्षेत्रले सबैभन्दा उच्च २४ दशमलव ८८ प्रतिशतको वृद्धिदर हासिल गरेको छ।
त्यसपछि वित्तीय तथा बीमा क्षेत्र १० दशमलव २७ प्रतिशत, यातायात तथा भण्डारण ७ दशमलव ८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार ५ दशमलव २५ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान छ।
देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १ दशमलव ५८ प्रतिशत रहने अनुमान गरिएको छ। कृषि क्षेत्रमा उत्पादनमा आएको सुस्तताले यस क्षेत्रको योगदान अपेक्षाभन्दा कम रहेको देखिएको छ।
त्यस्तै अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र पनि २ दशमलव ०२ प्रतिशतले विस्तार भएको कार्यालयले जनाएको छ।
यस अवधिमा आवास तथा भोजन सेवा, बैंक तथा बीमाका केही उपक्षेत्र तथा औद्योगिक उत्पादन क्षेत्रमा भने क्रमशः २ दशमलव ३० प्रतिशत, १ दशमलव ०७ प्रतिशत र ० दशमलव ८३ प्रतिशतले संकुचन देखिएको छ। अन्य अधिकांश औद्योगिक गतिविधिमा भने सामान्य तर सकारात्मक वृद्धि कायम रहेको तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेपालको अर्थतन्त्रको आकार तेस्रो त्रैमासमा बढेर करिब ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
ऊर्जा, वित्तीय सेवा र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रलाई सकारात्मक दिशा दिएको भए पनि कृषि र औद्योगिक उत्पादनमा अपेक्षित सुधार हुन सके आगामी दिनमा आर्थिक वृद्धिदर अझ सुदृढ हुने अपेक्षा गरिएको छ।