काठमाडौं । सरकारले विद्युत नियमन आयोगका अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबारको बैठकले आयोग अध्यक्षमा धिताललाई नियुक्त गरेको हो ।
धितालले आज अपराह्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठबाट सपथ लिने कार्यक्रम रहेको छ । सरकारले जलविद्युत्, नवीकरणीय ऊर्जा, विद्युत् नियमन तथा नीति निर्माणको क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका धिताललाई आयोगको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
यसअघि पनि आयोगका अध्यक्ष रहेका धिताल संघीय सरकारले ल्याएको ‘सार्वजनिक पदधारण गरेका व्यक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अन्तर्गत यहि वैशाख २१ गते पदमुक्त भएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यहि जेठ ७ गते रिक्त पदमा नयाँ नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो । जेठ २१ गतेसम्मका लागि खुलाइएको आवेदनमा धितालले पनि अध्यक्ष पदका लागि आवेदन दिएका थिए ।
कुल ३२ जना को आवेदन परेको थियो, जसमा अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाको आवेदन परेको थियो ।
नियुक्ति सिफारिस समितिले कार्ययोजना मूल्यांकनका आधारमा अध्यक्षका लागि ६ जना सर्टलिस्ट गरेको थियो । उनीसँगै केशवध्वज अधिकारी, मधुप्रसाद भेटुवाल, मोतीबहादुर कुँवर, डा.मधुसूदन अधिकारी, र डा.भोलानाथ शर्मा घिमिरे सर्टलिस्टमा परेका थिए ।