काठमाडौं । म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धको अन्तिम दिन चेल्सीका अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई क्लबको कीर्तिमानी करिब १६८ मिलियन डलरमा अनुबन्ध गरेको छ ।
अर्जेन्टिनाका २५ वर्षीय फर्नान्डेजले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी सन् २०३१ सम्म सिटीमा रहने छन् ।
फर्नान्डेजको स्थानान्तरण प्रिमियर लिगमा खेलाडी किनबेचको इतिहासकै सबैभन्दा महँगो सम्झौतासँग बराबर भएको छ । यसअघि यही सिटीले इलियट एन्डरसनका लागि तिरेको १५६ मिलियन डलर क्लबको कीर्तिमानी रकम थियो ।
विश्वकप विजेता फर्नान्डेजलाई सिटीले लामो समयदेखि भित्र्याउन चाहेको थियो । उनले चेल्सी छाड्ने इच्छा स्पष्ट पारेपछि चेल्सीले उनलाई बिक्री गर्ने निर्णय गरेको थियो । अन्ततः सिटीले चेल्सीले माग गरेको रकम तिर्न सहमति जनाएको हो ।

पछिल्लो केही महिनामा सिटीको मिडफिल्डमा ठूलो परिवर्तन आएको छ । बर्नार्डो सिल्भाको सम्झौता सकिएपछि उनी क्लबबाट बाहिरिएका थिए भने रोड्री, निको गोन्जालेज र तिजानी रेइन्डर्सले पनि क्लब छाडेका थिए । फर्नान्डेज आउनुअघि सिटीले मिडफिल्डमा एन्डरसन र अय्युब बुआद्दीलाई मात्र भित्र्याएको थियो ।
फर्नान्डेजले सिटीका प्रशिक्षक एन्जो मारेस्कासँग पुनर्मिलन गरेका छन् । मारेस्का चेल्सीमा रहँदा फर्नान्डेजले उनीसँग काम गरेका थिए ।
सिटीमा आबद्ध भएपछि फर्नान्डेजले आफू विश्वकै उत्कृष्ट क्लबमध्ये एकमा आउन पाउँदा निकै खुसी रहेको बताएका छन् ।