काठमाडौं । नेपालमा विद्युतीय स्कुटरप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको छ।
एथर नेपालको अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्रालिले धरान–१, छाता चौकमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको नयाँ केन्द्रसँगै नेपालमा एथरका एक्सपिरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ।
धरानमा नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथरका उत्पादन, प्रविधि तथा स्वामित्व अनुभव प्रत्यक्ष रूपमा बुझ्न र परीक्षण सवारी गर्न सक्ने भएका छन्। एथरले यसअघि काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायतका शहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।
धरानस्थित अनुभव केन्द्रमा ग्राहकले एथरको ४५० शृङ्खला तथा परिवारको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर तयार गरिएको रिज्ता हेर्न तथा परीक्षण गर्न सक्नेछन्। साथै, नयाँ ४५० एक्स ओभरटोन शृङ्खला पनि धरानमा प्रस्तुत गरिएको छ।

नयाँ ४५० मा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भोइस इन्टर्याक्सनजस्ता प्रविधि उपलब्ध छन्। म्याजिक ट्विस्टले थ्रोटलमार्फत सहज रूपमा गति घटाउन, इन्फिनिट क्रुजले लामो दूरीमा निरन्तर सवारी गर्न तथा भोइस इन्टर्याक्सनले आवाजमार्फत स्कुटरसँग अन्तरक्रिया गर्न सहज बनाउने कम्पनीको दाबी छ।
रिज्तालाई भने आराम, व्यावहारिकता र परिवारको दैनिक आवागमनलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।
धरानमा एथरको आगमनप्रति ग्राहकको प्रारम्भिक प्रतिक्रिया पनि उत्साहजनक देखिएको छ। औपचारिक उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ।
अनुभव केन्द्रको उद्घाटन अवसरमा २३ भदौ २०८३ सम्म विशेष उद्घाटन योजना समेत उपलब्ध गराइएको छ। ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, ५० प्रतिशत अग्रिम भुक्तानीमा शून्य ब्याजदर वा थप ८ हजार रुपैयाँ मूल्याङ्कन लाभमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।

कम्पनीले विद्युतीय स्कुटरको दीर्घकालीन स्वामित्वलाई ध्यानमा राख्दै ब्याट्री, सेवा र चार्जिङ पूर्वाधारमा समेत लगानी विस्तार गरिरहेको जनाएको छ। एथर एस्योरेन्सअन्तर्गत एट७० ब्याट्री वारेन्टीमा ब्याट्रीका लागि ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ, जसमा ब्याट्रीको स्वास्थ्य ७० प्रतिशत कायम रहने सुनिश्चितता दिइएको छ।
वैद्य ऊर्जाले नेपालभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र विस्तार गरिसकेको जनाएको छ। त्यस्तै, देशभर ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र निर्माण भइसकेका छन्, जहाँ उपयुक्त एथर स्कुटरलाई ० देखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
वैद्य ऊर्जा प्रालिका अनुसार धरानमा नयाँ अनुभव केन्द्र थपिनु बिक्री केन्द्र विस्तार मात्र नभई पूर्वी नेपालमा विद्युतीय आवागमनलाई सहज, भरपर्दो र पहुँचयोग्य बनाउने दिशामा महत्वपूर्ण कदम हो। अनुभव केन्द्र, सेवा सञ्जाल र द्रुत चार्जिङ पूर्वाधारलाई एकसाथ विस्तार गर्दै कम्पनीले ग्राहकलाई स्कुटर बिक्रीसँगै सम्पूर्ण स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।