काठमाडौं । संसदीय मैत्री समूह गठन भएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको सचिवालयका अनुसार, ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो । दलहरूको भागबण्डाका आधारमा मैत्री समू्ह गठन गरिएको हो ।
नेपाल–अस्ट्रेलिया मैत्री समूहको नेतृत्व नेपाली कांग्रेसले पाएको छ । कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई संयोजकको जिम्मेवारी दिइएको हो ।
नेपाल–चीन, नेपाल–भारत, नेपाल–अमेरिका मैत्री समूहको संयोजकको जिम्मा रास्वपाका सांसदले पाएका छन् । जसअनुसार नेपाल–भारत मैत्री समूहको संयोजकमा रास्वपाका विपीन आचार्य, नेपाल–चीन मैत्री समूहको संयोजकको जिम्मा उपनेता गणेश पराजुलीले पाएका छन् । अमेरिकाको संयोजकको जिम्मा निशा डाँगीले पाएकी छन् ।
नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने गरिन्छ । विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको छ । आपसी सम्बन्ध विस्तार गर्नु संसदीय मैत्री समूहको उद्देश्य रहेको बताइन्छ ।