काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालअन्तर्गतको बीओपी तातोपानीमा भौतिक क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
शुक्रबार बिहान करिब १:१५ बजे भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी तातोपानीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो।
पहिरोसँगै खसेका ढुंगा एकआपसमा ठोक्किँदा उछिट्टिएका ढुंगाले बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुर्याएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ। उक्त ब्यारेकको जस्ताको छानोमा समेत ६ वटा प्वाल परेको छ।
त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ। सि.अ.को बाथरुमको भित्तामा पनि प्वाल परेको जनाइएको छ।
ढुंगाले लागेर सशस्त्र प्रहरीको हिमाली ज्याकेटमा समेत प्वाल परेको छ। राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेको बताइएको छ।
यसैगरी, बीओपीको मेनगेट अगाडिको सिँढीमा समेत क्षति पुगेको छ।
सुख्खा पहिरोका कारण मानवीय क्षति नभए पनि बीओपी परिसरका विभिन्न भौतिक संरचनामा क्षति पुगेको र घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।