काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब ८ करोड ९५ लाख लागतमा महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सत्तलको कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन् ।
उनले पुनःनिर्मित सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै करदाताको लगानीमा बनेका यस्ता सम्पदामा व्यावसायिक गतिविधि नभई धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राखेकी थिइन् । गुठी संस्थानलाई संरचना हस्तान्तरण गर्न महानगर तयार रहेको तर यसको उपयोगबारे स्पष्ट योजना आवश्यक रहेको पनि उनले बताइन् ।
महानगरले भूकम्पपछि जीर्ण बनेका सम्पदाको संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ । वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग र गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले पुनःनिर्माण कार्यको प्रशंसा गर्दै सम्पदाको दीर्घकालीन संरक्षणमा जोड दिएका थिए ।
वि.सं. १९९७ सालको पुरानो तस्बिरलाई आधार बनाएर परम्परागत शैलीमा पुनःनिर्माण गरिएको सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यसमा जमिन तलामा ९ कोठा, पहिलो तलामा सभा कक्ष तथा अन्य कक्ष निर्माण गरिएका छन् ।
करिब १ हजार ३०५ वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ ।
महाङ्काल मन्दिर धार्मिक तथा सामाजिक सम्बन्ध
नेवार तान्त्रिक परम्परा, बौद्ध र हिन्दू धर्माबलम्बीहरुका साझा देवता काल भैरवका रुपमा चिनिने महाङ्काल आजभन्दा करिब १ हजार ३०५ वर्ष (सातौँ या आठौँ शताव्दी) मा स्थापना गरिएको मानिन्छ । मन्दिरका पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३०५ सय वर्ष अगाडि निर्माण भएको हो ।
मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने, ‘भगवान शिवको आकाश यात्रा र तान्त्रिक शाश्वत बज्रसँग मन्दिर स्थापनाको कथा जोडिएको छ । शाश्वत बज्र मन्त्रसिद्धि महाविहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उहाँ बसेको ठाउँमा घामको प्रकाश छेकियो । घामको ताप कसरी छेकियो भनेर साधनाबाट हेर्दा आकाशमा ठूलो आकारको शक्ति देखियो । यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने । तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ । दुष्कर्म गर्नेहरुको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिव्वततर्फ गइरहनुभएको थियो । यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकोले यहाँका सबैको सुख शान्तिका लागि यतै बसिदिन आग्रह गरे ।
तान्त्रिकको आग्रहमा शिवले काठमाडौँ काँशी जत्तिकै शुद्ध नभएकोले बस्न नसक्ने अड्को थाप्नुभयो । यो सुनेपछि तान्त्रिक शक्तिबाट गंगा र विश्वनाथलाई काठमाडौँ आव्हान गरियो । यसबाट गंगा र विश्वनाथ काठमाडौँ आउनुभयो । उहाँहरुलाई मन्दिर अगाडि पोखरी र विश्वनाथको मन्दिर बनाएर राखियो । (अहिले पोखरी नासिएर सैनिक अस्पताल बनेको स्थानीय पाका मानिसहरुको भनाइ छ ।) त्यसपछि शिव बस्न राजी त हुनुभयो । तर, आफूले तीन त्रिभुवनको अवस्था बुझ्नु पर्ने भएकोले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिवार चाहिँ आउने बताउनुभयो । यही सहमतिमा महाङ्काल मन्दिर स्थापना गरिएको मानिन्छ ।
पहिले त मंगलबार र शनिबार मात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे । अहिले सबै दिन आउँछन् । शाश्वत बज्रले खिच्दा महाङ्काल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ । प्रहरी कार्यालयसँगै अहिले महाङ्कालको सानो मन्दिर रहेको छ । यहाँबाट टुँडिखेलका छेउमा सार्नुको कारण पनि खोजीको विषय बनेको छ । यो घटनासँग चिनियाँ भविष्यवाणी र गाडिएको मूर्तिको प्रसङ्ग पनि भन्ने गरिन्छ ।
जसअनुसार, एक जना चिनियाँ तान्त्रिकले भविष्यमा महाङ्काल नेपाल आउनेछन्, भनेका थिए । नेपाल आउने महाङ्काललाई नेपालमै राख्न नेपाली तान्त्रिकहरुले महाङ्कालको मूर्ति बनाएर माटोमा गाडिदिए । जब महाङ्काल आकाशको बाटो हुँदै यात्रा गरिरहेका थिए । त्यसबेला शक्तिका कारण उनी हावामै राकिए । यही कारण उनी नेपाल बस्न बाध्य भए । लोककथन यस्ता अनेक छन् । जे भए पनि यहाँ हिन्दू र वौद्ध धर्मावलम्बीहरुले आस्थापूर्वक पूजा आराधना गर्ने गर्नुहुन्छ । बौद्धमार्गी तिव्वतियनहरुका लागि यो तीर्थ स्थल नै हो । माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्दछन् ।
महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वाश छ । खराव कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरु मन्दिरको दर्शन गर्न आउँछन् । संकटाको दर्शनपछि महाङ्कालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरुको विश्वाश पाइन्छ ।