काठमाडौं । भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका हजारौँ निजी घर प्रभावित भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको प्रारम्भिक विवरण अनुसार पाँच जिल्लामा मात्रै ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ ।
बाढीले घर तथा आवासीय संरचनामा मात्रै नभई सडक, झोलुंगे पुल, जलविद्युत् आयोजना, खानेपानी, विद्युत् तथा अन्य स्थानीय पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ । बाढी गएको एक साता बितिसक्दा प्रारम्भिक रूपमा गरिएको क्षतिको मूल्यांकनले नै विपद्को भयावह तस्वीर देखाएको छ । अझै जलविद्युत् आयोजना, सडक तथा अन्य ठूला पूर्वाधारको सम्पूर्ण क्षतिको मूल्यांकन भइनसकेकाले वास्तविक क्षति रकम अझै बढ्न सक्ने देखिएको छ ।
बाढी गएको दिन भौतिक तथा यातायात मन्त्री सुलिन लम्सालले प्रारम्भिक अनुमानमा करिब २ खर्ब रुपैयाँ बराबरको भएको बताएका थिए । तर एक साताको अवधिमा विभिन्न निकायले संकलन गरेको विवरणले प्रारम्भिक अनुमान भन्दा क्षति अझ बढी हुन सक्ने संकेत गरेको छ । एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ भने ४० किलोमिटरभन्दा बढी मोटरबाटो समेत बाढीले बगाएको बताइएको छ ।
नुवाकोटमा सबैभन्दा बढी घर क्षतिग्रस्त

संकलित विवरण अनुसार पाँच जिल्लामध्ये नुवाकोटमा सबैभन्दा धेरै निजी घर क्षतिग्रस्त भएका छन् । नुवाकोटमा मात्रै ३ हजार ९७७ घरमा क्षति पुगेको छ । यी घरमा भएको क्षतिको प्रारम्भिक अनुमानित रकम ९ अर्ब २२ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा धेरै घर क्षतिग्रस्त भएका छन् । विदुरमा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ । त्यहाँ निजी आवासमा भएको क्षति ७ अर्ब १७ करोड ५८ लाख रुपैयाँ बराबर रहेको प्रारम्भिक मूल्यांकन छ ।
त्यस्तै, किस्पाङ गाउँपालिकामा ६९६ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ १ अर्ब ३० करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बेलकोटगढी नगरपालिकामा २१२ घर क्षतिग्रस्त भएका छन् । बेलकोटगढीमा मात्रै ६० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । तार्केश्वर गाउँपालिकामा भने ४३ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ १४ करोड ७९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
यसरी हेर्दा नुवाकोटमा निजी घरमा भएको क्षति मात्रै पनि ९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बाढीले विशेषगरी नदी किनार तथा नदी आसपासका बस्तीलाई बढी प्रभावित बनाएको छ ।
रसुवामा १ हजार ७७९ घरमा क्षति
बाढीको सबैभन्दा ठूलो प्रभाव परेको जिल्लामध्ये रसुवा पनि एक हो । रसुवामा १ हजार ७७९ निजी घर क्षतिग्रस्त भएका छन् । ती घरमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन ५ अर्ब ७ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
रसुवाको गोसाईँकुण्ड गाउँपालिकामा सबैभन्दा धेरै १ हजार ४३ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ निजी आवासमा मात्रै २ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
उत्तरगया गाउँपालिकामा ५६७ घर क्षतिग्रस्त भएका छन् । उत्तरगयामा भएको क्षतिको प्रारम्भिक मूल्यांकन २ अर्ब ३० करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कालिका गाउँपालिकामा ११२ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ १८ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आमाछोदिङ्मो गाउँपालिकामा ५७ घर क्षतिग्रस्त भएका छन् भने त्यहाँ ९ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।
रसुवामा बाढीले घरसँगै सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न क्षेत्रमा यातायात तथा आवागमनसमेत प्रभावित भएको छ ।
धादिङमा १ हजार ४५१ घर क्षतिग्रस्त
धादिङमा पनि बाढीले ठूलो संख्यामा निजी आवासमा क्षति पुर्याएको छ । जिल्लामा १ हजार ४५१ घर क्षतिग्रस्त भएका छन् । यी घरमा भएको क्षतिको प्रारम्भिक अनुमान २ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मात्रै १ हजार ३७ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ निजी आवासमा भएको क्षति १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ बराबर रहेको छ ।
गजुरी गाउँपालिकामा १०७ घर क्षतिग्रस्त भएका छन् । गजुरीमा १७ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गल्छी गाउँपालिकामा ७९ घर क्षतिग्रस्त भएका छन् भने त्यहाँ १३ करोड ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।
त्यस्तै, सिद्धलेक गाउँपालिकामा २२८ घर क्षतिग्रस्त भएका छन् । सिद्धलेकमा निजी घरतर्फ ३७ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
गोरखामा २६३ घरमा क्षति
गोरखामा बाढीबाट २६३ निजी घर क्षतिग्रस्त भएका छन् । जिल्लामा निजी आवासमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन ४३ करोड ३९ लाख रुपैयाँ रहेको छ । गोरखाको गण्डकी गाउँपालिकामा २४८ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ ४० करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सहिद लखन गाउँपालिकामा भने १५ घर क्षतिग्रस्त भएका छन् । त्यहाँ २ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।
चितवनको इच्छाकामनामा सय घर क्षतिग्रस्त
बाढीको प्रभाव चितवनसम्म पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिकामा १०० निजी घर क्षतिग्रस्त भएका छन् । ती घरमा भएको क्षतिको प्रारम्भिक अनुमान १६ करोड ५० लाख रुपैयाँ रहेको छ ।
भोटेकोशी र त्रिशूली नदीको बाढीले नदी आसपासका जिल्लामा मात्रै नभई तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको थियो । चितवनको इच्छाकामनामा भएको क्षतिले बाढीको प्रभाव कति टाढासम्म पुगेको थियो भन्ने देखाउँछ ।
५३ झोलुंगे पुल क्षतिग्रस्त
बाढीले निजी घरसँगै स्थानीय तहमा मानिसको आवतजावत तथा गाउँ–बस्ती जोड्ने महत्वपूर्ण संरचना झोलुंगे पुलमा पनि ठूलो क्षति पुर्याएको छ ।
रसुवा र नुवाकोटमा मात्रै ५३ वटा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । तीमध्ये ३३ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको र २० वटा पुल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।
स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार शाहका अनुसार स्थानीय पूर्वाधारतर्फ मात्रै करिब सवा अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
पुल बगेपछि कतिपय बस्तीको मुख्य सडक तथा बजारसँगको सम्पर्कसमेत टुटेको छ । विशेषगरी नदी पार गरेर विद्यालय, स्वास्थ्य संस्था, बजार तथा कार्यालय पुग्नुपर्ने स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।
झोलुंगे पुल तत्काल निर्माण गर्न समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा अस्थायी रूपमा तुइन तानेर ‘कनेक्टिभिटी’ कायम गर्ने प्रयास भइरहेको छ । प्रारम्भिक रूपमा रसुवामा तीन र नुवाकोटमा दुई स्थानमा तुइनमार्फत आवागमन सञ्चालन गर्न सकिने देखिएको छ । नुवाकोटको विदुरअन्तर्गत बेलकोटगढी र इन्द्रचौरमा तुइन तान्ने कामसमेत भइसकेको बताइएको छ ।
रसुवामा पनि आवश्यक स्थान पहिचान गरी तुइन सञ्चालनका लागि तयारी भइरहेको छ । तर तुइन स्थायी समाधान नभएकाले क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पूर्ण रूपमा बगेका पुलको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था छ ।
पुल र सडक पुनर्निर्माणमा करोडौँ खर्च हुने
स्थानीय पूर्वाधार विकास विभागका अनुसार बाढीबाट क्षतिग्रस्त ग्रामीण सडक मर्मतका लागि मात्रै करिब ४० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
त्यस्तै, क्षतिग्रस्त झोलुंगे पुलको मर्मतका लागि करिब १५ करोड रुपैयाँ र बाढीले पूर्ण रूपमा बगाएका झोलुंगे पुल पुनर्निर्माणका लागि करिब ६० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
यसरी सडक, पुल तथा अन्य स्थानीय पूर्वाधार पुन:निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको छ । तत्काल अस्थायी संरचना बनाएर नागरिकको आवागमन सहज बनाउने र त्यसपछि स्थायी पुनर्निर्माण गर्ने सरकारको चुनौती देखिएको छ ।
निजी घरको क्षति मात्रै पनि अर्बौं
सहरी विकास तथा भवन निर्माण विभागको प्रारम्भिक विवरणले पाँच जिल्लाका निजी घरमा मात्रै भएको क्षति ठूलो रहेको देखाएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा क्षतिग्रस्त भएका ७ हजार ५७० निजी घरको प्रारम्भिक क्षति मूल्यांकन जोड्दा निजी आवास क्षेत्रमा मात्रै करिब १७ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी क्षति भएको देखिन्छ ।
तर यो तथ्यांक अन्तिम भने होइन । स्थानीय तहबाट थप विवरण आउने, क्षतिग्रस्त घरको पुन:मूल्यांकन हुने तथा पूर्ण र आंशिक क्षतिको विस्तृत विवरण संकलन हुँदै जाँदा क्षति रकम थप बढ्न सक्ने सम्भावना छ ।
त्यसमा सडक, पुल, जलविद्युत्, विद्युत् प्रसारण, खानेपानी, सञ्चारलगायतका पूर्वाधारमा भएको क्षति जोडिएको छैन । एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण रहे पनि ती आयोजनाको पूर्ण क्षति मूल्यांकन हुन बाँकी छ ।
त्यस्तै, बाढीले ४० किलोमिटरभन्दा बढी मोटरबाटो बगाएको प्रारम्भिक जानकारी छ । सडक तथा जलविद्युत् आयोजनाको क्षति मूल्यांकन पूरा भएपछि बाढीबाट भएको समग्र आर्थिक क्षतिको आकार अझै ठूलो हुने देखिएको छ ।
पुनर्निर्माण सरकारका लागि ठूलो चुनौती
एकैपटक ठूलो संख्यामा निजी घर, सडक, पुल र जलविद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण सरकारका लागि ठूलो चुनौती बनेको छ । तत्काल नागरिकलाई सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य सेवा तथा आवागमनको सुविधा उपलब्ध गराउनुपर्ने अवस्था छ ।
त्यसपछि क्षतिग्रस्त घरको पुनर्निर्माण, सडक तथा पुल निर्माण र जलविद्युत् तथा अन्य भौतिक संरचनाको पुन:स्थापनाको काम अघि बढाउनुपर्नेछ । विशेषगरी नदी किनारका बस्तीमा भविष्यमा यस्तै विपद् दोहोरिन नदिन जोखिमयुक्त बस्तीको अध्ययन, नदी नियन्त्रण, तटबन्ध निर्माण, सुरक्षित आवासको व्यवस्था र विपद् पूर्वतयारीमा समेत सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ ।
भोटेकोशी र त्रिशूलीमा आएको बाढीले केही घण्टाको प्राकृतिक विपद्ले वर्षौं लगाएर निर्माण गरिएका भौतिक संरचना र नागरिकका घर–सम्पत्तिमा कति ठूलो क्षति पुर्याउन सक्छ भन्ने देखाएको छ । अहिले सार्वजनिक भएको तथ्यांक प्रारम्भिक मात्रै भएकाले पूर्ण मूल्यांकनपछि विपद्को वास्तविक आर्थिक क्षति अझ ठूलो हुने सम्भावना छ ।
प्रारम्भिक तथ्यांकअनुसार पाँच जिल्लामा ७ हजार ५७० निजी घर क्षतिग्रस्त हुनु, ५३ झोलुंगे पुलमा क्षति पुग्नु, ४० किलोमिटरभन्दा बढी सडक बग्नु र एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुग्नुले भदौ १० गतेको बाढीलाई पछिल्लो समयकै ठूलो प्राकृतिक विपद्का रूपमा चित्रित गरेको छ । अब प्रभावित नागरिकको पुन:स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई कसरी तीव्र बनाउने भन्ने विषय सरकारका लागि मुख्य चुनौती बनेको छ ।