काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । तर कारोबार भने ह्वात्तै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.०६ अंकले बढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५४.२८ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि फाइनान्स, हाइड्रो, उत्पादनमूलक, म्युचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह राताम्मे भएका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७ सय ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६ सय २४.९७ रुपियाँ बराबरको कारोबार भएको छ ।
मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९९ प्रतिशतले नाफा कमाएका छन् भने स्नो रिभरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज हाथवे इन्भेष्टमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४४ करोड ४० लाख ४४ हजार ४ सय ९९ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन हिजो सोमबार प्राविधिक समस्याका कारण शेयर बजार स्थगित गरिएको थियो ।