काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभाश हुने काम गर्न सरकारलाई आग्रह गरिन्।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी सहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन्।
उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरिन्।
संसद्मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर,महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै उनले जेन्जी आन्दोलनका सहिदहरूले पूर्णरुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन्।
उनले ‘छोराको लासमाथि सांसद पद साटेको’भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गरिन्।
