काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को भावी नेतृत्वका लागि आगामी मंगलबार निर्वाचन हुँदैछ ।
भोलि आइतबार महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन र पर्सि मंगलबार निर्वाचन गर्ने पूर्वनिर्धारित कार्यतालिका छ । जस अनुसार मंगलरबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।
महासंघको विद्यमान विधान अनुसार भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन् भने बाँकी पदहरू निर्वाचनमार्फत पूर्ति गरिने छ । जसका लागि उद्योगी–व्यवसायीहरू समूह नै बनाएर महिनौँदेखि निर्वाचनको मैदानमा होमिएका छन् ।
महासंघको निर्वाचन समिति कार्यालयका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अध्यक्ष र कोषाध्यक्षबाहेक जम्मा निर्वाचित हुने ७३ पदका लागि कूल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला/नगर, वस्तुगत, एसोसिएट्स, द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघ र संस्थापक समूहअन्तर्गतको विभिन्न कलष्टरहरूमा १३७ जना उद्योगी–व्यवसायीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
निर्वाचन समितिका अनुसार जिल्ला/नगर तर्फबाट उपाध्यक्ष दुई जना, खुल्ला सदस्य १५ जना, महिला सदस्य दुई जना र प्रत्येक प्रदेशबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने छ । निर्वाचन समितिका अनुसार सातमध्ये कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

वस्तुगत तर्फबाट उपाध्यक्ष एक जना, कार्यकारिणी सदस्य १३ जना, महिला सदस्य एक जना, वस्तुगत महासंघबाट कार्यकारिणी सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ । यसैगरी, एसोसिएट्स तर्फबाट उपाध्यक्ष एक जना, केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, महिला सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ ।

त्यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य वाणिज्य महासंघका तर्फबाट एक जना कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यस्तै, महासंघको संस्थापक सदस्य समूहबाट कार्यकारिणी सदस्य पदमा दुई जनाका लागि निर्वाचन गरिने छ ।

यसरी निर्वाचित गरिने ७३ पदका लागि वैशाख १८ गते साँझ प्रकाशित उम्मेदवारहरूको अन्तिम नामावली अनुसार कूल १३७ जनाको उम्मेदवारी कायम छ । यी उम्मेदवारहरूलाई विभिन्न कलष्टरका एक हजार ८९२ संघसंस्थाका प्रतिनिधिहरूले मतदान गर्दैछन् ।
को कुन समूहका उम्मेदवार ?
महासंघको आसन्न निर्वाचनका लागि हेमराज ढकाल र अञ्जन श्रेष्ठले समूह बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालको संरक्षणमा रहेको हेमराज ढकाल समूहका उनी प्रस्तावित वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको बताइएको छ ।
उनको समूहबाट जिल्ला/नगर तर्फबाट उमेश डालमिया र कल्पना गैरे, वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ र एसोसिएट्स तर्फबाट ज्योत्सना श्रेष्ठ उममेदवार छन् ।
यो समूहबाट वस्तुगत संघतर्फ कार्यकारिणी सदस्य महिला कलष्टरमा वरिष्ठ सौन्दर्य व्यवसायी कमला श्रेष्ठ उम्मेदवार छिन् । जुन पद ६०औँ वार्षिक साधारण सभाले पारित गर्ने संशोधित विधान लागू भएपछि उपाध्यक्षमा परिणत गरिने बताइएको छ । यो पदलाई हाल प्रस्तावित महिला उपाध्यक्ष भनेर प्रचार गरिएको छ । ६०औँ साधारण सभाले निर्वाचित गरेको सम्पूर्ण कार्यकारिणी सदस्यको बीचमा हुने निर्वाचन प्रक्रियामार्फत महिला उपाध्यक्ष चयन हुने छन् ।
यस्तै, ‘वेटिङ प्रेजिडेन्ट’ अञ्जन श्रेष्ठले संरक्षण गरेको अर्को समूहको जिल्ला/नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ, वस्तुगततर्फ शिव प्रसाद घिमिरे र एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डे उम्मेदवार छन् ।
यो समूहबाट प्रस्तावित महिला उपाध्यक्षका लागि वस्तुगत संघतर्फ कार्यकारिणी सदस्य महिला कलष्टरमा नेपाल कृषि मेशिनरी व्यवसायी संघकी सुनिता न्हेम्हफुकीको उम्मेदवारी छ । यो समूहबाट सुरकृष्ण वैद्य, रामचन्द्र संघाइ र भरतराज आचार्यको नाम वरिष्ठ उपाध्यक्षको चर्चामा छ ।
नयाँ विधान अनुसार एक जना वरिष्ठ उपाध्यक्ष, पाँच जना उपाध्यक्ष र एक जना कोषाध्यक्षसहित सात जना रहने व्यवस्था छन् । सात जना पदाधिकारीमध्ये चार जना साधारण सदस्यको मतबाट र एक जना बरिष्ठ उपाध्यक्ष, एक जना महिला उपाध्यक्ष तथा एक जना कोषाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले चयन गर्ने छ ।
उम्मेदवारको सूची– उपाध्यक्षसहित पाँच जनाले फिर्ता लिए उम्मेदवारी, यस्तो छ अन्तिम नामावली
मतदाता संघ–संस्था र प्रतिनिधिको सूची– मतदान गर्न पाउने व्यक्तिहरूको सूची प्रकाशित (सूचीसहित)