काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विद्यमान आर्थिक अवस्थाको सुधारका लागि आफ्ना सदस्यहरूसँग सुझाव माग गरेको छ ।
पछिल्लो समय बिग्रदो क्रममा रहेको आर्थिक अवस्था सुधारका लागि गत असोज २५ गते काठमाडौंमा राष्ट्रिय आर्थिक बहस कार्यक्रम आयोजना गरेको महासंघले आर्थिक अवस्था सुधार र निजी क्षेत्रमैत्री दीगो आर्थिक नीति निर्माणका लागि आफ्ना सदस्यहरूसँग सल्लाह र सुझाव माग गरेको हो ।
महासंघले आफ्ना सदस्यहरूसँग सुझाव माग गर्दै पत्राचार समेत गरेको महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले जानकारी दिए । उनका अनुसार महासंघको सुझाव बमोजिम अहिलेको आर्थिक अवस्था सुधारका निम्ति निजी क्षेत्रको समेत सहभागिता रहने गरी सरकारले एक उच्चस्तरीय आर्थिक सुधार संयन्त्र निर्माण गर्ने तयारी गरिरहेको अवस्थामा महासंघ सम्बद्ध सदस्यहरूको सल्लाह र सुझाव महत्वपूर्ण रहने छ ।
संयन्त्र निर्माणअघि सरकारले सर्वपक्षीय छलफल गर्ने र त्यस छलफलमा महासंघले समग्र निजी क्षेत्रको तर्फबाट आर्थिक अवस्था सुधारबारे आवश्यक सुझाव प्रस्तुत गर्ने छ । त्यसअघि महासंघले आफ्ना सदस्यहरूको भोगाईका आधारमा ठोस सुझाव माग गरेको हो ।
यसैबीच, महासंघको पत्राचार बमोजिम नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पनि आफ्ना सदस्यहरूसँग् सुझाव माग गरेको छ । काठमाडौंका सदस्यहरूले संघको ई–मेल, ह्वाट्स एप वा भाइबर (९८४३७३८५१२) मार्फत सुझाव पेस गर्न सक्ने संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS