काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको बताएकी छिन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा महासंघका पूर्वअध्यक्ष राणाले व्यावसायिक लागत बढी हुँदा नेपालका वस्तु तथा सेवाले त्यस्तै प्रकृतिका विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखेका हुन्।
‘यहाँ उत्पादन लागत निकै छ। जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन। सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान थालेका छन्’, पूर्वअध्यक्ष राणाले भनिन्।
महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी छ। मुलुकको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थराजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने पूर्वअध्यक्ष राणाको भनाइ छ।
‘राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ। अर्थराजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्’, उनले भनिन्। त्यस्तै नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाको भनाइ छ।
